पूर्वडीएसपी सेट्ठीसहित ६ प्रहरीलाई धरौटीमा छाड्न आदेश

| 2019 Mar 14 | 05:12 pm 105

कञ्चनपुर, फागुन ३० : जिल्ला अदालत कञ्चनपुरले निर्मला पन्त प्रकरणमा मुछिएका ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

१३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार र हत्या अनुसन्धानको क्रममा अभियुक्तलाई यातना दिएको र प्रमाण नष्ट गरेको आरोप लागेका पूर्वप्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान बहादुर सेट्ठीसहित ६ प्रहरीलाई अदालतले धरौटीमा छाड्न आदेश दिएको हाे ।

जिल्ला अदालत कञ्चनपुरका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलाशले बिहीबार उक्त आदेश गरेको हो । अदालतले भर्खरै डीएसपीबाट अवकास पाएका सेट्ठी र प्रहरी निरीक्षक एकेन्द्र खड्कासँग प्रमाण नष्ट गरेकोमा ५ र यातनामा ४ लाख धरौटी रकम माग गरेको छ ।

एक साताअघी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुर्व डिएसपी सेट्ठी, इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद सहित ६ जनलाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला अदालत कञ्चनपुरले प्रहरी निरीक्षक जगदीश भट्टसँग ४ लाख, सई हरिसिंह धामिसँग ३ लाख ५० हजार, सई रामसिंह धामिसँग ३ लाख र प्रहरी जवान चाँदनी साउदसँग २ लाख ५० हजार धरौटी माग गरेको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्त र दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा प्रहरी अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

पुस ३ गते निर्मलाकी आमा दुर्गादेवीले तत्कालीन एसपी दिल्ली विष्टसहित ८ जनाका नाममा प्रमाण नष्ट गरेको आरोपमा सार्वजनिक न्यायविरुद्धको कसुरमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जोहरी दिएकी थिइन् । ती मध्ये तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र सीआइबीका डिएसपी अंगुर जिसी फरार छन् ।

हिरासतमा राखी यातना दिइएका दिलिपसिंह विष्टका दाजु खड्ग विष्टको जाहेरीका आधारमा पनि मुद्दा दायर भएको थियाे । तत्कालीन एसपीको कमाण्डमा प्रहरीले घटनास्थलमा प्रमाण नष्ट गरेको र निर्दोषलाई पक्राउ गरी यातना दिइएको आरोप लगाइएको थियाे ।

निर्मलालाई बलात्कार गरेको आरोपमा ४१ वर्षीय दिलीपलाई पक्राउ गरी डिल्ली विष्ट नेतृत्वको प्रहरीले यातना दिएर अपराध स्विकार्न बाध्य पारेको थियो । ४ भदौमा अभियुक्तका रूपमा सार्वजनिक गरेका उनी पछि डिएनए रिपोर्टमा निर्दोष देखिएका थिए ।

प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा आठैजनाविरुद्ध मुद्दा दायर गरेको थियो ।घटनास्थलमा प्रमाण सुरक्षित राख्न नसकेको र अनुसन्धानमा लापरबाही गरेको आरोपमा ती प्रहरी अधिकारीहरुलाई सरकारले यसअघि नै निलम्बन गरेकाे थियो ।

गत साउन १० गतेका दिन साथी रोशनी बमको घरमा होमवर्क गर्न भनी गएकी निर्मला पछि घर फर्किनन् । उनको भोलिपल्ट उखुबारीमा शव फेला परेको थियो । बलात्कार गरी हत्या गरिएको पोष्टमार्टमबाट खुलेको थियो । त्यसयता यस प्रकरणले धेरै मोड लिइसके पनि वास्तविक दोषी भने हाल सम्म पत्ता लाग्न सकेको छैन ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.