काठमाडौं, बैशाख ९ः नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले नागढुंगा–नौबीसे सडक खण्डलाई मर्मत सम्भार गरेर सहज रुपमा आवत–जावतको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठसँग आग्रह गरेका छन् ।
शुक्रबार कांग्रेस नेता भण्डारीले सचिव श्रेष्ठलाई फोन गरेर नागढुंगादेखि नौबीसेसम्मको सडक खण्ड भत्किएर यात्रुले आवागमनमा निकै कठिनाइ भोग्नुपरेको भन्दै सडक मर्मत सम्भारमा सहयोग गर्न आग्रह गरेका हुन् । उनले सडक मर्मत सम्भारमा भएको कठिनाइ छ भने त्यो कठिनाइ फुकाउन आफूले सहयोग गर्ने आश्वासन सचिव श्रेष्ठलाई दिएका छन् ।
‘नागढुंगादेखि नौबीसेसम्मको सडक भत्किएर सवारी आवागमनमा धेरै समस्या छ । यात्रुले सास्ती बेहोर्नु परेको छ’, उनले भने, ‘सडक मर्मत सम्भार गर्न कुनै कठिनाइ छभने सहजताका लागि म सहयोग गर्छु । होइन भने सडक छिटो मर्मत गरेर आवागमनमा सहजता बनाउनुस् ।’
काठमाडौं उपत्यका प्रवेश गर्ने यो सडक भत्किएको लामो समय भएको छ । सडक विभाग र सरोकारवाला निकायले मर्मत सम्भारमा लापरबाही गरेका कारण घण्टौँसम्म सवारी जाम हुने गरेको छ । यात्रुले सास्ती व्यहोर्नु परेको छ ।
रेणु यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री छिन् । उनले यो सडक बनाउन विषयमा ध्यान नदिएको गुनासाहरू आइरहेका छन् । मन्त्री यादव र सचिव श्रेष्ठ कानमा तेल हालेर बसेका छन् ।
नागढुंगा–नौबीसे सडक खण्ड भत्किएर हिँड्नै नसक्ने अवस्थामा छ । ठूला–ठूला खाल्डाहरू छन् । ती खाल्डामा परेर सवारी साधन अड्किने समेत गरेका छन् ।