नवरात्रको पाँचौं दिन स्कन्दमाताको पुजा

रिपोर्ट नेपाल | 2019 Oct 03 | 08:40 am 49

काठमाडौं, असोज १६: नवरात्रको पाँचौं दिन स्कन्दमाता स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो पाँचौं स्वरूपमा स्कन्दमाता नामले प्रसिद्ध छ । शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो ।

पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द थिए र स्कन्दले नै दैत्यलाई तारकासुरको वध गरेका थिए । स्कन्दमाता शब्द दुईवटा शब्दबाट मिलेर बनेकोछ, पहिलो स्कन्द तथा दोस्रो माता अतस् स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुन ।

तारकासुरले कठोर तप गरेर ब्रह्माजीसङ्ग शिवजीका पुत्रको हातबाट मृत्युको वर प्राप्त गरेको थियो, जसले गर्दा तारकासुर एक प्रकारले अमर जस्तै भएको थियो । दैत्यराजको कारण तीनै लोक त्रसित भएको थियो, तारकासुरले सबै देवताहरूलाई स्वर्गबाट निष्कासित गरेर भगायो र स्वयं नै समस्त भोगलाई भोग्न थाल्यो र सतीको मृत्यु पश्चात् भगवान् शिवजी निरासक्त भएर संधै नै ध्यान मग्न रहन थाले, सतीले पुनः पार्वतीको रूपमा हिमालयको घरमा लिएपछि पनि भगवान् शिवजीले आफ्नो योग तथा साधनाको त्याग गरेनन र अन्ततः माता पार्वतीको कठोर साधनाको फलस्वरूप शिवजीले आफ्नो योग एवं साधनाको त्याग गरे र अन्ततः पार्वतीसंग विवाह भयो तत्पश्चात यिनै दम्पतीको सन्तान कुमार कार्तिकेय भए । ७ वर्षकै अल्प आयुमा कुमार कार्तिकेयले असुरपति तारकासुरको वध गरे त्यसै समयदेखि सबै देवताहरूको सेनापति भए ।

स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त छन । देवी नाना प्रकारको आभूषण एवं अर्ध चन्द्र धारण गरेकी, देवी आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार गर्नुहुन्छ, तर देवीमा कमलको आसनमा पनि बस्छन । देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ । स्कन्दमाताको पूजा, पाठबाट कुमार, कार्तिकेय या स्कन्दको पूजा पनि स्वयमेव हुनेछ । स्कन्दमातालाई केरा अधिक प्रिय छ भने श्रद्धा भक्तिले गरिएको सबै प्रकारको पूजा, फलफूल, पकवान्न, एवं पुष्पहरू प्रिय छन् । स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.