धर्म निरपेक्षता र गणतन्त्र देशका लागि गलपासो

रिपोर्ट नेपाल | 2020 Sep 15 | 01:41 pm 636

  • बसन्त भुजेल

भनिन्छ –‘पशुले आफू खाडलमा परेपछि मात्रै चेत्छ, तर मान्छेले अरु खाडलमा परेको देखेर पनि चेत्छ ।’ मुलतः मान्छे र पशुवीचको भिन्नता भनेकै यही हो । तर वीपी कोइराला र कृष्णप्रसाद भट्टराईलाई अपवाद मान्ने हो भने नेपालका नेताहरुले सिक्किम घटना नजिकैबाट देखेर पनि चेतेनन्, कम्बोडिया घटनाबाट पनि चेतेनन्, न त अफगानस्तान तथा इराक घटनाबाट चेते ।

नेपालका राजनीतिक नेताहरुमध्ये राजाबाट सबै भन्दा प्रताडित वीपी कोइराला र कृष्णप्रसाद भट्टराई हुन् । जसलाई राजा महेन्द्रले दशकौं वर्षजेल मात्रै कोचेनन्, प्रधानमन्त्रीपद तथा सभामुख पदबाट समेत वर्खास्त गरेका थिए । तर पनि राज संस्था समाप्त गर्ने उद्योगमा वीपी र भट्टराई कहिल्यै लागेनन् । वीपीले त आफ्नोजीवन भर हाम्रो जस्तो ठूला मुलुकले घेरिएको सानो देश जोगाउनका लागि संवैधानिक राजसंस्था बाहेक अर्को विकल्प नरहेको व्याख्या गरिरहे । वीपीको जीवनकाल भर नेपाली कांग्रेस त्यो बाटोमा अविचलित रह्यो । त्यस पछि कृष्णप्रसाद भट्टराई पनि अविचलित रहे । २०४५– २०४६ सालको नाकावन्दीको माध्यमबाटै भारतले राजा फाल्न खोजेको थियो, तर कृष्णप्रसाद भट्टराईको बुद्धिमत्तापूर्ण सुझवुझका कारण भारतको केही लागेन । तर विस्तारै भट्टराईलाई शक्तिविहिन बनाउँदै लगियो । गिरिजाप्रसाद कोइरालाको सभापतित्वकालमा कांग्रेस आफ्नो सिद्धान्तबाट विचलित भयो । जब कांग्रेस सिद्धान्तबाट विचलित भयो तब सन्त नेता भट्टराईले पार्टी छोडेको घोषणा गरे ।

सिक्किम लगायत विश्वका जति पनि देशले आफ्नो सार्वभौमिकता गुमाएका छन्, वा गृह युद्धमा प्रवेश गरेका छन्, ती देशको इतिहास हेर्ने हो भने पहिले राजसंस्था फालिएको छ । त्यस पछि सके सार्वभौमसत्ता कोल्याप्स गराईएको छ, नसके गृहयुद्ध चर्काएर हतियारको वजार बनाइएको छ ।

नेपाल पनि ढिलो चाँडो यो षड्यन्त्रमा फस्न सक्ने अनुमान गर्दै दूरदर्शी राजनेता वीपी कोइरालाले तत्कालिन राजा महेन्द्रलाई धेरै सम्झाई बुझाई गरेको देखिन्छ । प्रयाप्त सुझवुझ हुँदा हुँदै पनि महेन्द्र त्यो षड्यन्त्रका शिकार भए । राष्ट्रियता बलियो बनाउन राजा महेन्द्रबाट धेरै योगदान भएको छ, तर प्रजातन्त्र खाने कदम मुलककै लागि आत्मघाती भयो । राजदरवारमा विदेशीहरुको कति ठूलो घुसपैठ भएको रहेछ ? भन्ने पहिलो उदाहरण डा. तुल्सी गिरि हुन् । जो प्रधानमन्त्री भएका बेला नेपालका संस्कृत गुरुकुलहरुको शैक्षिक योग्यता प्रमाणपत्र मान्य नहुने कानून आयो । नयाँ मठ मन्दीर तथा गुम्वा निर्माणका लागि राज्यले बजेट नछुटयाउने कानून आयो । आखिर डा. गिरि इशाईहरुका एजेण्ट रहेछन् ।

राजतन्त्रकै कारण अनेक दुशकष्ट भोगेका नेताहरु गणतन्त्रको पक्षमा लाग्नु अस्वभाविक नहोला रे, तर दरवारले भुइबाट टिपेर मन्त्री प्रधानमन्त्री बनाएका लोकेन्द्र बहादुर चन्द, डा.प्रकाशचन्द्र लोहनी लगायतका पूर्वपञ्चहरुले २०६५ साल जेठ १५ गते संसदमा मतदान हुँदै गर्दा गणतन्त्रका पक्षमा भोट हाले । किन हाले ? भन्ने प्रश्नको उत्तरले नेपालमा कति ठूलो षड्यन्त्र भएको रहेछ , स्पष्ट हुन्छ । थप व्याख्या गरिरहनु पर्दैन ।

गलत काम गरेपछि भित्रभित्रै पोल्न थाल्छ । आत्मा शरीर भित्रै विछिप्त हुन थाल्छ । जसले गल्ती स्वीकार गर्छ , उसको आत्मा ठिक ठाउँमा आउँछ , जसले गल्ती स्वीकारदैन ढिलो चाँडो उ पागल हुन्छ ।  लोकेन्द्रबहादुर चन्द , डा. प्रकाशचन्द्र लोहनी लगायतका पूर्वपञ्चहरुले त गणतन्त्र स्थापना भएको केही महीनामा नै गल्ती स्वीकारी सकेका थिए । त्यतिबेला संविधानसभाको अध्यक्ष बनेर प्रस्ताव पेश गर्ने नेपाली कांग्रेसका नेता केवी गुरुङले पनि गल्ती स्वीकारी सके । आफूलाई १२ बुँदै सम्झौताको हस्ताक्षरकर्ताका रुपमा गर्व गर्ने नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति गोपालमान श्रेष्ठले समेत एक साता अघि विविसि सँग अन्तर्वार्ता दिने क्रममा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता गल्ती थियो भनेर बोलिसके । ढिलै भए पनि नेपाली कांग्रेसका नेता श्रेष्ठले आफ्नो विगतको गल्ती स्वीकार गरेका छन् । यो सकरात्मक पक्ष हो । अरु कांग्रेसका अरु नेताहरुले पनि यो महागल्ती स्वीकार गरुन ।

नेपाल जस्तो विश्वको एकमात्र हिन्दु राष्ट्रलाई समाप्त पार्ने षड्यन्त्र यसै गरिएको छैन । ठूलो अन्तर्राष्ट्रिय खेल छ यहाँ । सबैको होस खुलोस । हाम्रो धर्म, हाम्रो संस्कृति हाम्रो परम्परा विश्वकै सबै भन्दा जेठो हो । जेठोधर्म समाप्त पार्नु भनेको हामी आफै समाप्त हुनु हो । राजा मास्नु भनेको आफ्नो शीर आफैले काट्नु जस्तै हो । २०१७ साल पुस १ गते चालेको कदम बाहेक तत्कालिन राजा महेन्द्रका सबै कदमलाई मुलुकले मार्गदर्शक सिद्धान्तका रुपमा अंगिकार गर्नु पर्छ । राजा महेन्द्रको पाँच विकास क्षेत्र र १४ अंचल, ७५ जिल्लाको अवधाराणा थोरै अपवाद बाहेक मुलुक सुहाउँदो रहेको वीपी कोइरालाले नै टिप्पणी गरेका थिए । १ सय जना भन्दा बढी सांसद नेपालमा काम छैन । संसद भनेको तलव र भत्ता खाने थलो होइन । भन्दै उनले २०१५ सालमा संविधान निर्माण गर्ने क्रममा राजालाई सुझाव दिएका थिए । नभन्दै दरवारले १ सय ९ जना सांसद रहने गरी संविधान जारी गरेको थियो ।

अझै चौपट भइसकेको छैन । नेपाल जोगाउने हो भने गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता अविलम्व खारेज गर्नै पर्छ । तव मात्रै नेपाल बलियो हुनेछ र धनी हुनेछ । विकासका नाममा चिउरा छरे झैं कार्यकर्तालाई पैसा बाँढेर देश दोहन गर्ने विकृतिको तत्काल अन्त्य हुनुपर्छ ।

संघीयता हुन हुँदैन भनेर संविधानविद भिमार्जुन आचार्य र चित्रबहादुर केसीले बारम्वार भनेका थिए, अहिले गलपासो भयो । यदी चित्रबहादुरले गणतन्त्र र संघीयताको विषयमा पनि मनमा लोभ र पाप नराखी बोलेको भए जनताले उनलाई भोट ओहिर्याउने थियो, तर गणतन्त्र र धर्मनिरपेक्षताको उनले समर्थन गरे ।

सानो मुलुक , थोरै जनसंख्या भएको मुलुकलाई संघीयता आवश्यक थिएन । उत्तर दक्षिण करिव २ सय र पूर्व पश्चिम करिव ८ सय किलोमिटरको भूभाग भित्र पुन नपुग ३ करोड जनसंख्या छ । त्यसमाथि आर्थिक अवस्था कमजोर छ भनेर त्यतिबेला धेरै विज्ञहरुले भनेका थिए । एकातिर आवश्यक छैन, अर्कोतिर खर्च धान्न सकिन्न भनिएको थियो । यतिबेला पुष्टि भएको छ । बैदेशिक रोजगारीमा युवाहरु नजाने हो भने मुलुक धानिदैन । इन्धन र औषधी किन्न समेत विदेशी मुद्राको अभाव हुन्छ । समय अनुसार नचल्नेहो भने नेपाल असफल राष्ट्र हुन्छ ।

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताले देश अराजकतातिर धकेलेको संकेत देखिइसकेको छ । कोरोनाको आतंकले मान्छे भोकभोकै मरीरहेका छन् । सडकमा भात खानेको लामो लाइन छ । हेर्दा तेस्रो विश्वयुद्ध भएको जस्तै भान हुन्छ । मान्छे लकडाउनमा छ । उत्पादन जिरो छ । कसरी चल्छ यो देश ? कस्तो–कस्तो सरकार बनाए नेपाली जनताले विगतमा तर चल्यो । अहिले दुई तिहाईको सरकारले किन देश चलाउन सकेन ? यसको उत्तर हो संघीयता , गणतन्त्र र धर्मनिरपेक्षता ।

गाउँ गाउँमा बाटोको नाममा डोजर आतंक छ । डाँडा काँडा खसेर पहिरोले दिन दिनै सयौं मान्छे मरिरहेका छन् । मान्छे मरेका हुन् कि , किरा फट्यांग्रा तथा पशुमरेका हुन् ? लेखा जोखा छैन । मानव अधिकारको दुहाई दिइन्छ, तर मान्छे भएर बाच्न पाउने अधिकार खोई ? खै कहाँ छ लोकतन्त्र ? केही मान्छेका लागि त हिँजो पनि थियो नि, गरिव निमुखाले के पाए ? आफ्नो पाखुरा बजारेर पनि खान नपाउने ?

रोगले भन्दा पनि भोकले मर्नेको संख्या धेरै भयो । सत्य समाचार बाहिर आउँदैन । कस्तो लोकतन्त्र हो ? के नेपाली जनताले चाहेको लोकतन्त्र र समाजवाद यस्तै हो ? जनताले यसैका लागि संघर्ष गरेका हुन् ? अवश्य पनि होइन । गाँस वाँस कपास खोइ त ? समृद्धि खोइ त ? रेल कहाँ छ ? खोइ त घोषणापत्रको एक अंश कार्यान्वयन भएको छ ? जनतालाई यसरी झुक्याउन पाइन्छ ? नेपाली जनता सोझा होलान तर मुर्ख छैनन् । २१ औं शताव्दीमा ढुंगेयुगको जस्तो शासन सुहाउँदैन । बेसार पानी खान सरकारले जनतालाई सिकाइ रहनु पर्दैन ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.