सुनसरी, बैशाख २ः धरान ४ स्थित कोशी राजमार्गमा बस र टेम्पो एकआपसमा जुध्दा टेम्पो चालकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा टेम्पो चालक धरान १७ निवासी करिब ४५ बर्षीय खड्ग विश्वकर्मा रहेका छन् ।
ईलाका प्रहरी कार्यालय धरानका अनुसार को २ ह ७०४१ नम्बरको टेम्पो भेडेटारबाट धरानतर्फ आइरहेको थियो भने को १ ख ४४८० नम्बरको यात्रुबाहक बस धरानबाट भेडेटारतर्फ गइरहेको अवस्थामा एक अर्काबीच ठक्कर खाएकाे हो। उक्त दुर्घटनामा परी अटाे चालककाे घटनास्थलमा नै मृत्यु भएको प्रहरी निरीक्षक गजेन्द्र रायले जानकारी दिए। उनका अनुसार मृतकको पुरानो बसोबास सुनसरीकै बराहक्षेत्र नगरपालिका भरौल रहेकाे तर, हाल उनी धरान १७ मा बस्दै आएको खुलेको पनि रायले जानकारी दिए।
टेम्पोमा सवार ताप्लेजुङ घर भएकी १५ बर्षीया उषा लिम्बु घाइते भएकी छिन्। उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। दुर्घटना भेडेटार नजिकै भएको हो। बस चालक गोविन्द कटवाललाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।