धनगढीमा रात्रीकालीन महिला गोल्डकप फुटबल प्रतियोगिता हुने

| 2022 Apr 15 | 10:17 pm 269

धनगढी, बैशाख २ः धनगढीमा रात्रीकालीन महिला गोल्डकप हुने भएको छ । वनदेवी युवा क्लबको आयोजनामा शनिबार (भोलि)देखि धनगढी रंगशालामा प्रथम राष्ट्रिय मुख्यमन्त्री बीवाईसी महिला गोल्डकप फुटबल प्रतियोगिता हुन लागेको हो ।

नयाँ वर्षको अवसरमा हुन लागेको प्रतियोगिताको तयारी पूरा भएको आयोजक वनदेवी युवा क्लबले जनाएको छ ।

आज पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष शुसन जोशीले दिउँसो अत्यधिक गर्मी हुने भएकाले रात्रिकालीन प्रतियोगिता गर्न लागिएको बताए ।

सुदूरपश्चिममा पहिलोपटक महिला गोल्डकप फुटबल प्रतियोगिताको आयोजना गर्न लागिएको उनले बताए । धनगढीमा पहिलोपटक रात्रीकालिन फुटबल हुन लागेकाले नौलो प्रयोग हुने जोशीको भनाइ छ ।

प्रतियोगितामा विभागीय टिमसहित ८ क्लबको सहभागिता रहने छ । विजेताले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने छ । प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने छ ।

प्रतियोगिता सञ्चालनका लागि करिब १ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष जोशीले बताए ।

टाइसिट तथा ट्रफी सार्वजनिक 
शनिबारदेखि सुरु हुने महिला गोल्डकपको टाइसिट सार्वजनिक गरिएको छ । पहिलो खेल विभागीय टिम नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहटकाबीच हुने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.