दैलेखमा नौ जना मलेरियाको संक्रमित फेला

रिपोर्ट नेपाल | 2020 Feb 11 | 09:16 am 75

दैलेख, माघ २८: दैलेखमा मलेरियाका लागेको बिरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय दैलेखका अनुसार नौ जनामा मलेरिया लागेको जनाइएको छ । उक्त रोग लागेकाहरु रोजगारीका लागि भारत गएका पाइएको हो ।

नेपालबाट निवारणको अवस्थामा रहेको यो रोगबाट पाँच वर्षीय बालकसमेत पीडित रहेको पाइएको छ । बालकको जिल्लामा उपचार हुन नसकेपछि कान्ति बाल अस्पताल काठमाडौँमा उपचारका क्रममा मलेरिया भएको पत्ता लागेको हो । बिरामीको अहिले उच्च निगरानीमा उपचार भइरहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले बताएको छ ।

मलेरियाका बिरामी दैलेख क्षेत्र–२ को दुल्लु नगरपालिका, आठबिस नगरपालिका, क्षेत्र नं १ को महावु गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाबाट भेटिएको हो । मलेरिया रोग अन्यत्र सर्न नदिनका लागि सतर्कता अपनाइएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा निराजन पन्तले बताए ।

पन्तले मलेरियाका बिरामीको परिवार र नजिकका छिमेकीको पनि स्वास्थ्य जाँच गरी सर्तक रहन सल्लाह र परामर्श दिने गरेको बताए । जिल्ला अस्पतालका वरिष्ठ ल्याव असिस्टेन्ट टेकबहादुर भण्डारीले उपचारका लागि अस्पताल आएका चार मलेरियाका बिरामी भेटिएको र अन्य पाँच जनाको जिल्ला बाहिर उपचारका क्रममा मलेरिया भेटिएको जनाएको छ ।

नेपाल सरकारको नीतिअनुसार एक जनामात्र मलेरिया बिरामी भेटिएको अवस्थामा तत्काल निगरानीमा राखी निःशुल्क उपचार गर्नुपर्ने साथै बिरामीका कारण परिवार र छिमेकीमा सर्नबाट रोक्न विशेष स्वास्थ्यकर्मी टोलीबाट जाँच गर्नुपर्ने व्यवस्था रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.