दृष्टिविहीन बालबालिका कोरोनाका कारण अध्ययनबाट वञ्चित, वैकल्पिक माध्यमले काम गरेन

| 2020 Oct 12 | 07:59 am 56

सुर्खेत, असाेज २६ः  वीरेन्द्रनगर–८, खजुरामा रहेको शिद्ध बहिरा बालक स्कूलको ठिक अगाडि सोही विद्यालयमा अध्ययनरत स्वस्तिका सिंहको घर छ । तर उनी न विद्यालय जान सक्नुहुन्छ, न त घरमै बसेर पढ्न सक्नुहुन्छ । विद्यालयमा साथीहरूसँग खेल्दै, रमाउँदै पढेको सम्झँदा उनलाई पीडा हुन्छ । र, मनमा एउटै प्रश्न खेलिरहन्छ– स्कूल कहिले खुल्ला ?

स्वस्तिका मात्र होइनन्, उनीजस्ता थुप्रै दृष्टिविहीन बालबालिका कोरोना कहरको कारण अध्ययनबाट वञ्चित छन् । सरकारी तथा गैरसरकारी क्षेत्रबाट साधारण विद्यार्थीको लागि वैकल्पिक सिकाइको अभ्यास भए पनि अपाङ्गताजस्ता विशेष अवस्थाका बालबालिकाको लागि सिकाइको प्रभावकारी विकल्प उपयोग भएको देखिँदैन । कक्षा ६ मा अध्ययनरन १३ वर्षीया स्वस्तिका साङ्केतिक भाषामा आफ्नो पीडा पोख्छिन् । पढ्न मन त लाग्छ, तर पढ्ने उपाय (माध्यम) छैन । घरमै कसरी पढ्ने ?

प्रदेशको शिक्षा विकास निर्देशनालयका अनुसार कर्णालीका ३९ विद्यालयमा दृष्टिविहीन र बहिरा विद्यार्थीको लागि अपाङ्गमैत्री स्रोतकक्षा सञ्चालन गरिएको छ । ती विद्यालयमा ६५२ जना विद्यार्थी अध्ययनरत छन् । वीरेन्द्रनगरमा अवस्थित शिद्ध बहिरा स्कूल विशेष विद्यालयमा ९५ जना विद्यार्थी आवासीय रुपमा पढ्छन् । अहिले विशेष विद्यालयका साथै सबै आवासीय स्रोतकक्षा बन्द छन् । यसले गर्दा आवासीय सुविधामा बसेर पढिरहेका विद्यार्थी आ–आफ्नो घर गएका छन् ।

शिद्ध बहिरा स्कूलमै पढ्ने वीरेन्द्रनगर–११ की अस्मिता भट्टराईको समस्या पनि उस्तै छ । उनी बेलाबेला किताबका पाना पल्टाउनुहुन्छ, एकछिन हेर्नुहुन्छ र नबुझेपछि दिक्क मान्दै किताब थन्काउनुहुन्छ । उनीसँग पनि एउटै प्रश्न छ, स्कूल कहिले लाग्छ ? घरमा बस्दा दिक्क लागिसक्यो ।

अपाङ्गता भएका विद्यार्थलाई घरमा पढ्न र पढाउन सहज छैन । बौद्धिक अपाङ्गता भएका विद्यार्थी अझ बढी प्रभावित छन् । घरमा अभिभावकले समेत उनीहरूको भाषा पठनपाठनको भाषा जान्दैनन् । शिद्ध बहिरा स्कूलका अधिकांश विद्यार्थी सुर्खेत बाहिरका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले विद्यालय सञ्चालनमा थप अन्यौल देखिएको प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले बताए ।

हामीले चाहेर पनि पठनपाठनका कार्यक्रमहरू अघि बढाउन सकेका छैनौँ, उनले भने, कर्णाली प्रदेशसहित अन्य प्रदेशका बालबालिका पनि पढ्ने भएकोले यहाँ ल्याएर तत्काल पढाउन सकिने अवस्था छैन । विद्यार्थी भर्नाको कामसमेत अघि नबढेको उनले बताए ।

सुर्खेतकै शिखर मावि, रामघाटमा अध्ययरत प्रकाश सञ्ज्याल दृष्टिविहीन हुनुहुन्छ । विद्यालयको आवासमै बसेर पढ्ने उनी लकडाउनपछि घर कालीको गएका छन् । गाउँमा रेडियो सुनिँदैन । इन्टरनेटको समेत पहुँच छैन । घरमै पढ्ने उनीसँग ब्रेललिपिसम्बन्धी सामग्री छैनन् । घर गएपछि पढ्न नपाएको उनको दुखेसो छ ।

कर्णाली प्रदेशमा भौगोलिक विकटताका कारण पठनपाठन सुरु गर्न अझ समस्या छ । टेलिफोन, इन्टरनेट, रेडियो, टेलिभिजनको पर्याप्त पहुँच छैन । जसोतसो पहुँचमा पुगेकालाई पनि सिकाइमा अभ्यस्त नहुँदा समस्या छ । नौ कक्षामा अध्ययनरत भेरीगङ्गा नगरपालिकाका–१२, राझीगाउँका दुर्ग परियार रेडियोमा पढाएको सुन्छन् । तर, सामग्री नहुँदा लेख्न सक्दैनन् । हामीलाई रेडियोबाट त्यति सहज हुने रहेनछ, उनले भने, पढाइ भएको रेडियोबाट सुन्ने काम मात्र हुन्छ, ब्रेललिपि नहुँदा समस्या छ ।

श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राममा अध्ययनरत दुधकली कार्कीलाई पनि रेडियोमा सुनेको विद्यालयमा पढेको जस्तो लाग्दैन । विद्यालयमा त सबै माध्यमबाट पढाइ हुन्थ्यो, पढ्न धेरै सजिलो थियो, उनले भनिन्, घरमा रेडियो सुन्नेबाहेक अरु केही काम भएको छैन ।

कोरोनाका कारण चैतयता सम्पूर्ण विद्यालय बन्द छन् । पछिल्लो समय केही विद्यालयहरू खुल्न पनि थालेका छन् । केही विद्यालय फेरि बन्द हुँदैछन् । सरकारले विद्यालय सञ्चालन नगर्न भनिरहेको छ । सरकारले शिक्षण सिकाइलाई सहजीकरण गर्न वैकल्पिक माध्यमलाई अघि सारेको छ । तर वैकल्पिक माध्यम अपाङ्गता भएका बालबालिकालाई उपयुक्त भएको छ । गोरखापत्र  दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.