दिलिपको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ

| 2020 Jan 11 | 12:34 pm 67

धनुषा, पुस २६ः नदी उत्खननको विरोध गर्ने दिलिप कुमार महतोको हत्या गरेको आरोपमा क्रसर संचालक विपिन कुमार महतो पक्राउ परेका छन् ।

प्रहरीले शनिबार बिहान विपिनलाई जनकपुरधाम उपमहानगरपालिका वडा नं १ भानूचौक नजिकबाट पक्राउ गरेको हो । यसअघि, शुक्रबार नै प्रहरीले अनुसन्धानका लागि दिलिपका साथी रोशन यादव, टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरेको थियो ।

शुक्रबार बिहान करिब ४ बजेको समयमा नदीमा भईरहेको अवैध उत्खनन रोक्न गएका महतोलाई टिपरले खोला किनारमा किचेर हत्या गरेको थियो ।

हत्या भएपनि प्रहरीले घटनास्थलको मुचुल्कासमेत नउठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको भन्दै शुक्रवार मृतकका परिवार र स्थानीयले विरोध गरेका थिए ।

स्थानीयले पूर्वपश्चिम राजमार्गको ढल्केवर सडकखण्ड अवरुद्ध गरेपछि अवरोध हटाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरी र स्थानीय सरकारको अकर्मण्यता र मिलेमतोका कारण क्रसर व्यवसायी र टिपर सञ्चालकको आतंक बढ्दा हत्यासम्मको घटना भएको आरोप लगाउने स्थानीयले दोषीलाई तत्काल कारबाही र सबै क्रसर उद्योग बन्द गर्नुपर्ने माग राख्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.