‘दाउपेच र शक्ति सञ्चयका लागि विप्लवसँग वार्ता हुँदैन’

| 2019 Jul 18 | 06:58 pm 55

काठमाडौं, साउन २ : सरकारले प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले शक्ति सञ्चय गर्ने गरी वार्ता नहुने स्पष्ट पारेको छ । सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा वार्तालाई शक्ति सञ्चयको माध्यम बनाउन नदिइने बताए ।

मन्त्री बास्कोटाले विप्लव समूहलाई वार्तामा आउन भनिरहेको बताउँदै जेलमा राखिएका मान्छे छोड्दै उनीहरुको शक्ति सञ्चयका लागि वार्ता नहुने बताए । मन्त्री बास्कोटाले भने, ‘वार्ताका लागि मान्छे छोड्नु पर्ने भन्ने हुँदैन । ५२ सालदेखि ६२ सालसम्म के भयो ? वार्ता गर्ने, छोड्ने फेरि शक्ति सञ्चय गर्ने ? फेरि त्यसकै दुस्चक्रमा फर्किने ? त्यसमा सरकार सचेत छ ।’

सरकारले समातेको मान्छे बन्दुक बोक्नका लागि छाडेर वार्ता गर्ने कुरा नहुने उनको भनाई छ । उनले भने, ‘वार्ता चाहिं गर्ने, यसको निष्कर्षमा नपुग्ने र फेरि पहिलेकै अवस्थामा जाने भन्ने हुँदैन । कमजोर धरातलमा बसेर वार्ता हुँदैन ।’

मन्त्री बास्कोटाले अनुचित, गैरजिम्मेवार, असंवैधानिक मागमा वार्ता नहुने बताउँदै सिके राउतकोझै शान्तिपूर्ण राजनीति गर्ने प्रतिवद्धता सहित स्पष्ट भएर आए वार्ता गर्न तयार रहेको बताए ।
उनले भने, ‘एकलाई दुई बनाउने, छलाङ मार्ने हिजोकै जस्तो चक्र अब फेरि दोहोरिंदैन । उहाँहरुले एउटा होहल्ला शुरु गर्नु भएको छ । होहल्लाको पछि लागेर हुँदैन । उहाँहरु वार्ताका लागि आउनु हुन्छ भने स्वागत छ ।’

मन्त्री बाँस्कोटाले विप्लव समूह पनि सिके राउतको समूह जस्तै वार्तामा आउनु पर्ने औंल्याए । पछिल्लो पटक सत्तारुढ नेकपाकै महासचिव विष्णु पौडेलले जेलमा पुगेका विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका थिए भने अनौपचारिक सम्वादहरु भइरहेको सत्तारुढ दलका नेताहरुले पनि स्वीकार गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.