काठमाडौं, माघ १४ः गएराति काठमाडौंको दक्षिणकाली नगरपालिका–९ हुमानेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ट्रक चालक मकवानपुरको थाहा नगरपालिका–४ बज्रबाराहीका ३१ वर्षीय मोहनलाल रुम्बा र परिचालक अछाम घर भई काठमाडौंको दक्षिणकाली बस्ने २८ वर्षीय गोमबहादुर बुढा रहेका छन् ।
बा३ख ६१९९ नम्बरको ट्रक थाहाखेलबाट फर्पिङतर्फ आउँदै गर्दा अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियाे ।
ट्राफिक पोस्ट फर्पिङका प्रमुख प्रहरी नायव निरीक्षक ताराबहादुर चन्दका अनुसार ओरालोमा ब्रेक फेल भएर अनियन्त्रित ट्रक सडकबाट तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा ट्रमा सेन्टर काठमाडौंमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।