थाहा पाइराख्नोस् – डेंगु के हो ? यसबाट कसरी बच्ने ?

रिपोर्ट नेपाल | 2019 Sep 10 | 05:26 pm 60

काठमाडौं, भदौं  २४ : मुलुकका विभिन्न जिल्लामा यतिखेर डेंगु रोगको प्रकोप फैलिएको छ । विशेष गरी तराईका जिल्लामा बढी देखिने गरेको यो रोगको प्रकोप पछिल्लो समय पहाडी जिल्लामा समेत देखिन थालेको छ । संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एक प्रकारको ज्वरो हो । डेंगु सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा सहरी क्षेत्रमा बढी पाइने गर्दछ । गर्मी मौसममा लामखुट्टे धेरै आउने भएकाले पनि यो रोग गर्मी मौसममा बढी देखिने गरेको छ ।

तराईमा बढी गर्मी हुने भएकाले लामखुट्टे पनि बढी आउने हुँदा उक्त क्षेत्र डेंगुको बढी जोखिममा पर्ने गरेको छ तर अहिले राजधानिमा पनि  डेंगुकाे संक्रमण बढेकाे छ । डेंगुको प्रकोपका डरले अहिले मानिसहरू डराइरहेका छन् । डेंगुको संक्रमण फैलिएका जिल्लामा लामखुट्टे नियन्त्रण तथा नष्ट गर्न सरकारले ‘सर्च एन्ड डिस्ट्रोई’ अभियान सञ्चालन गर्दै विशेष टोली परिचालन गरेको छ ।

के हो डेंगु ?

यो संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको ज्वरो हो । डेंगुको भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग मानिसमा सर्ने गर्दछ । विश्वभर नै यो रोगको संक्रमण देखिएको भए पनि एसियामा पनि खास गरी भारत र नेपालमा पछिल्लो समयमा यो रोग प्रकोपको रूपमा देखा परेको छ ।

सामान्यतया डेंगु भाइरसको संक्रमण भएको ३ देखि १४ दिनपछि यो रोगका लक्षण देखिन थाल्छन् । यो रोग निको हुन दुईदेखि सात दिनसम्म लाग्न सक्छ । तर, समयमै अस्पताल गई चिकित्सकको परामर्श नलिए यो रोगबाट ज्यानै जान सक्ने चिकित्सक बताउँछन् । यो रोगका लागि हालसम्म विशेष औषधि उपलब्ध नरहेका कारण पनि सावधानी अपनाउन आवश्यक छ ।

डेंगु लागेको कसरी थाहा पाउने ?

डेंगुको लक्षण तुरुन्तै देखिदैन, तीन देखि १४ दिनको अन्तरमा देखिन्छ । यसको संक्रमण भएमा एकदमै चिसो अनुभव हुने र ज्वरो आउने गर्छ । तर, आम ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ ।

डेंगुको संक्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । साथै लाग्छ । कतिपय बिरामीहरु चक्कर लागेर बेहोससमेत हुन्छन् । खानामा जिब्रोको स्वाद बदलिन्छ । भोक कम लाग्छ । पखाला लाग्छ । टाउको तथा कम्मर दुख्छ । र, गम्भीर अवस्थामा आँखा, नाक आदिबाट रगत बग्न थाल्छ ।

कसरी बच्ने ?

डेंगुबाट बच्नका लागि घर आसपास एवं टोल छेउछाउ पानी जम्न दिनु हुँदैन । नीमको पात बालेर त्यसको धुँवा घरमा फैलाउँदा लामखुट्टे भाग्न सक्छन् । पानी राखिएको भाँडा बर्तन खुला छाड्नु हुँदैन । भान्सा र वाथरुमलाई सुख्खा राख्नुपर्छ । झ्याल ढोकामा जाली लगाउनुपर्छ । शरीर पूरा ढाक्ने गरी लुगा लगाउनुपर्छ । सुतेको समयमा झुल प्रयोग गर्नुपर्छ । घर आसपास लामखुट्टे मार्ने औषधी छर्नुपर्छ ।

उपचार के छ ?

अहिलेसम्म डेंगुको औषधी बनेको छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यसैले माथिका लक्षणहरु देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सम्पर्कमा रहनुपर्छ ।

डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या तिब्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधीका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।

सादा भोजन लिनुपर्छ । धेरै नुन भएको खाने कुरा खानुहुँदैन । मसलेदार चटपटे खानेकुरा बन्द गर्नुपर्छ । अनार वा गहुँको जमराको रस पिउनुपर्छ । ताजा मौसमी फलफूल खानुपर्छ । नरिवल पानी वा सफा पानी धेरै मात्रामा पिउनुपर्छ । भिटामिन सी युक्त फल खानुपर्छ । कागती, सुन्तला, अंगुर, जामुन पर्याप्त मात्रामा खानुुपर्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.