तीन महिना अघि हराएका आफ्ना सदस्यको खोजी गरिदिन राउटे अगुवाकाे माग

| 2019 Aug 08 | 06:45 am 129

सुर्खेत, साउन २३:  जिल्लाकाे गुर्भाकोट नगरपालिकाको सेराघारीबाट तीन महीना अघि हराएका आफ्ना सदस्यको खोजी गरिदिन राउटे अगुवाले माग गरेका छन् । वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राउटे अगुवाले बेपत्ता युवा जयबहादुर शाहीको खोजी गरिदिन सरकारसँग आग्रह गरेका हुन् ।

राउटे अगुवाका अनुसार ३७ वर्षीय जयबहादुर यही वैशाख २५ गतेदेखि बेपत्ता भएको हो । जङ्गलमा शिकार खेलेर फर्कर्ने क्रममा सेराघारी आसपासबाट हराएको हो, हामीले धेरै ठाउँमा खोज्यौँ, फेला पार्न सकेनौँ राउटे युवा प्रकाश शाहीले भने, शिकार खेलेर फर्कंदा गाउँमा विवाह थियो, केही समय त्यहाँ बस्यौँ, त्यसपछि जयबहादुर बस्तीमा आएनन् ।

उनले बेपत्ता आफ्ना सदस्यको खोजीका लागि सञ्चारकर्मी र सरकारसँग आग्रह गरे । जयबहादुरको घरमा ६५ वर्षीय बुबा कान्छाराम र बहिनी सुना छन् । जङ्गलमा फिरन्ते जीवन बिताउने यो समुदाय हाल दैलेखको गुराँस गाउँपालिकामा बसाइँ सरेको छ । राउटे समुदायले जयबहादुर हराएपछि गुराँस गाउँपालिकाको कार्यालयलाई खोजीका लागि निवेदन दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.