ढुंगा प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

| 2020 Oct 10 | 09:23 am 109

खोटाङ, असाेज २४ः शुक्रबार खोटाङस्थित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्कमा श्रीमानले लाेहाेराे ढुंगा प्रहार गरी श्रीमतीकाे हत्या गरेकाे छ । हत्या हुनेमा ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) रहेका छन् ।

सामान्य घरायसी विवादका क्रममा श्रीमान ४२ वर्षीय डम्बरबहादुर गिरीले प्रहार गरेको मसला पिस्ने लोहोरो ढुङ्गावाट गम्भीर घाइते भएकी ज्ञानकुमारीको उपचारकाे लागी काठमाडाैं लाने क्रममा बाटैमा मृत्यु भएकाे हो ।

काठमाडौं लादै गर्दा उनीकाे हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाई पदम पुरीले जानकारी दिए । गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यू भएपछि शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको बताइएकाे छ ।

उक्त घटनाको बारेमा अनुसन्धानका लागि प्रहरी टोली परिचालन गरेर अनुशन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए । लोहोरो ढुंगा प्रहारले श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रहरीले जनाएको छ ।

फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालय दिक्तेलबाट प्रहरी टोली परिचालन गरिएको डिएसपी चिमरियाले बताए ।

डम्बरबहादुरले कुटपिट गर्नुका साथै लोहोरो ढुंगा प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । घटनास्थल नजिकै प्रहरी चौकी समेत रहेको छ । घरायसी झगडामा आमाको मृत्यु हुनुका साथै बुबा फरार भएपछि गिरी दम्पतीको पाँच छोराछोरीको बिचल्ली भएको छ । उनीहरुको तीन छोरी र दुई छोरा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.