डोटीका तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ

रिपोर्ट नेपाल | 2020 Jan 21 | 04:30 pm 67

डोटी, माघ ७ : प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो ।

सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिए ।

नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा गोठ भत्काउने क्रम जारी छ । प्रहरीले गोठ भए नभएको अवस्थाका बारेमा अनुगमनसमेत गरिरहेको छ ।

अनुगमनका क्रममा ती तीन गाउँपालिकामा मात्रै ११३ छाउपडी गोठ रहेको जनाइएको छ । उनले भने, ‘तीन गाउँपालिकामा छाउगोठ भेटिएका छन्, छाउगोठ भत्काउने अभियान जारी छ ।’ गोठ भत्काउन छुट्टै प्रहरी टोली परिचालन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.