काठमाडौं, बैशाख १५: नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा प्रचलनमा ल्याउन गृहकार्य सुरु गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले डिजिटल करेन्सी ल्याउन अध्ययन सुरु गरेको बताए।
पछिल्लो समयमा धेरै देशले क्रिप्टोकरेन्सीलाई वैधानिकता दिन थालेका छन्। नेपालमा क्रिप्टोकरेन्सी बन्देज छ। तर, विश्वमा बढ्दै गएको अभौतिक मुद्रा प्रचलनमा ल्याउने सम्भावनाबारे राष्ट्र बैंकले अध्ययन थालेको हो। क्रिप्टोमा नेपाली तथा विदेशमा बस्ने नेपालीले लगानी गरेको आशंका गर्दै राष्ट्र बैंकले गैरकानुनी भन्दै आएको छ।
राजस्व अनुसन्धान विभागले केहीलाई अनुसन्धान गरी कारबाहीसमेत गरेको छ। अर्थ मन्त्रालयले क्रिप्टोकरेन्सी र हाइपर फन्डजस्ता नेटवर्किङ व्यवसायमा कारोबारबारे अनुसन्धान गरिरहेको छ। तर, दुई महिनाअघि नै प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा अझै अनुसन्धान पूरा हुन नसकेको जनाइएको छ। राष्ट्र बैंकको ६७औं स्थापना दिवसको अवसरमा बोल्दै गभर्नर अधिकारीले डिजिटल करेन्सीतर्फ जाने उद्देश्यले ‘सेन्ट्रल बैंक डिजिटल करेन्सी’सम्बन्धी अध्ययन गरिरहेको बताए।
गभर्नर अधिकारीले अर्थतन्त्रका विविध आयामबारे अध्ययन, अनुसन्धानमा प्राथमिकता राखिएको बताए। पछिल्लो समयमा रेमिट्यान्स पनि घट्दै गइरहेको छ। गत वर्ष ९ खर्ब ६१ अर्ब रेमिट्यान्स भित्रिएको थियो। साउन लागेसँगै रेमिट्यान्स निरन्तर ओरालो लाग्दै आएको छ। राष्ट्र बैंकले रेमिट्यान्स कारोबार गर्दा लाग्ने सेवाशुल्क वेभसाइटमा राख्ने व्यवस्था गरेको छ।
रेमिट्यान्स पठाउँदा महँगो पर्ने भन्दै वैदेशिक रोजगारीमा रहेका कामदारले बढी पैसा पाइने आशामा हुन्डीबाट पठाइरहेका छन्। हुन्डी, क्रिप्टोकरेन्सी र नेटवर्किङमा लगाउँदा वैदेशिक रोजगारीमा गएकाहरूको तुलनामा रेमिट्यान्स आउन सकेको छैन। अन्नपूर्ण पाेस्ट दैनिकबाट