टेलिकमले किफायती मूल्यका ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउने

| 2022 Mar 30 | 05:10 pm 425

काठमाडौं चैत १६: नेपाल सरकारको स्वामित्त रहेको नेपाल टेलिकमले सबै किसिमका सेवा प्रदायकको नेटवर्कमा कुराकानी गर्न सकिने किफायती मूल्यका ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउने जनाएको छ ।

अहिले नेपाल टेलिकमले उपलब्ध गराइरहेका विभिन्न प्रकारका ‘अन-नेट भ्वाइस प्याक’ कायम राख्दै तिनमा थप सुविधासहित टेलिकमले किफायती मूल्यमा विभिन्न प्रकारमा ‘अल-नेट भ्वाइस प्याक’ उपलब्ध गराउन लागेको हो ।

टेलिकमका अनुसार हाल उपलब्ध विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सीयूजी प्याकहरुलाई अझै ग्राहकमैत्री र सस्तो बनाएको टेलिकमले जनाएकाे छ ।

नयाँ व्यवस्था अनुसार जुनसुकै नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक रु. २६५ मा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक रु. ५५० मा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म कुराकानी गर्न सकिने अनलिमिटेड ‘अल-नेट डे भ्वाइस प्याक’ र राति १० बजेदेखि बिहान ७ बजेसम्म जुनसुकै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने ‘अनलिमिटेड अल-नेट नाइट प्याक’ रु. २५ मा खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

ग्राहकको आवश्यकता अनुसार बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म रु. १२ मा ३० मिनेट र रु. १५ मा १२० मिनेट जुनसुकै नेटवर्कमा कुराकानी गर्न सकिने ‘अल-नेट डे भ्वाइस प्याक’ पनि उपलब्ध हुने टेलिकमले जनाएको छ ।

सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याक थप आकर्षक बनाइएकाे कम्पनीले जनाएकाे छ । रु. ५९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा २५० मिनेट कुराकानी गर्न सकिने सुविधा थप गरिएको छ ।

टेलिकमक अनुसार रु. ७९९ मा कम्पनीभित्रकै नेटवर्कमा असीमित कुराकानी गर्न सकिने प्याकमा अन्य सेवा प्रदायकको नेटवर्कमा ५०० मिनेट कुराकानी गर्न सकिने र २०० वटा सन्देश पठाउन सकिने व्यवस्था छ ।

प्रतिदिन १ जीबी डेटा समेत चलाउन सकिन्छ । रु. ९९९ र रु. १४९९ का प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अबदेखि अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने (अल-नेट अनलिमिटेड) सुविधा उपलब्ध हुनेछ ।

क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डेटा तथा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । यी प्याकहरु पोस्टपेड मोबाइलमा ३० दिन र प्रिपेड मोबाइलमा २८ दिनका लागि उपलब्ध हुनेछन् ।

नयाँ प्याकहरु २०७८ चैत १७ गतेदेखि २०७९ वैशाख ४ गतेसम्म खरिद गर्न सकिनेछ । पहिलेदेखि नै उपलब्ध अन्य विभिन्न प्याक यथावत् रहेकाे कम्पनीले जनाएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.