टेलिकमद्वारा चिडियाखानाका लागि आहारा प्रदान

रिपोर्ट नेपाल | 2022 Apr 25 | 07:57 am 225

काठमाडौं, बैशाख १२ः नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीका लागि १ वर्षसम्म आहाराको प्रायोजन गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलका तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् । सो अवसरमा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।

सो अवसरमा प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुनेगरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताए ।

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए ।

सम्झौताअनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीका लागि १ वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउनेछ ।

नेपाल टेलिकमले समय समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.