टिकट माग्दै, नेताका दैला चाहार्दै

| 2022 Apr 17 | 07:39 am 177

काठमाडाैं, बैशाख ४ः स्थानीय निर्वाचनका लागि आकांक्षी बढेपछि टिकटका लागि शक्तिकेन्द्र धाउनेको अहिले लाइन छ। जिल्लामा नै उम्मेदवारको टुंगो लाग्न नसक्दा र आकांक्षी विश्वस्त नहुँदा अध्यक्ष वा इञ्चार्जको घरमा नै पुगिरहेका छन्। संघीयताको पाँच वर्षे कार्यकालमा स्थानीय तहमा आएको बजेट र जनप्रतिनिधिले प्रयोग गरेको अधिकारको लोभमा पनि आकांक्षी बढेका हुन्। तहको प्रमुख वा उपप्रमुमा मात्रै होइन वडाध्यक्ष र सदस्यमा पनि आकांक्षी धेरै छन्। दल र नागरिकमा गरेको योगदानका आधारमा भन्दा पनि शक्ति केन्द्रको चाहनामा उम्मेदवार तय हुने क्रम यसपटकको निर्वाचनमा पनि देखिन थालेको छ।

कोही आफ्नै लागि त, कोही आफू निकटका लागि टिकट दिलाउन बालुवाटार आउने गरेको बालुवाटार स्रोतको भनाइ छ। कांग्रेस सह–महामन्त्री महालक्ष्मी उपाध्याय (डीना) हेटौंडा उपमहानगरपालिकाको प्रमुख पदमा आनन्दराम पराजुलीलाई टिकट दिलाउन लागिपरेकी छन्। पटक–पटक पार्टी सभापति देउवालाई भेटिसकेकी छिन्। टिकटको दौडमा मकवानपुरमा नेकपा एकीकृत समाजवादीका नेताहरू पनि पछि छैनन्। हेटौंडा गठबन्धनभित्र समाजवादीको कोटामा पार्न पार्टीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपानेदेखि जिल्ला अध्यक्ष श्रीधर पोखरेलसम्म दौडधुपमै छन्। उपमहानगरको नेतृत्व भागबन्डाबाट आफ्नो पोल्टामा पार्न सके समाजवादीबाट नगर प्रमुखको उम्मेदवार बन्ने दाउमा छन्, पोखरेल।

नेकपा माओवादी केन्द्रका नेताहरू पनि नगर प्रमुख आफैंले राख्न दौडधुपमा छन्। नेता प्रकाश पाण्डे र ललित घलान पार्टीका केन्द्रीय नेताहरूसँग भेटघाटमा व्यस्त छन्। नेकपा एमालेभित्र कसले टिकट लिने भन्ने लडाइँ सतहमै देखिएको छ। उपमहानगरका बहालवाला नगरप्रमुख हरिबहादुर महत सत्ताको स्वाद चाखिसकेकाले दोहोरिन चाहन्छन्। एमाले केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाल नगर प्रमुखको दौडमा छन्।

आकांक्षीमा सहमति नजुटे एमाले मकवानपुर अध्यक्ष एकलाल श्रेष्ठ आफैं चुनावी मैदानमा उत्रने गरी आन्तरिक तयारीमा जुटेका छन्। जिल्लाका अधिकांश पालिकाहरूमा उम्मेदवार टुङ्गो लगाएको एमालेले हेटौंडामा मात्र नगर प्रमुखको उम्मेदवार टुङ्गो लगाउन सकेको छैन। अन्य पालिकाबाट सिफारिस भएर आएका नामहरूका बारेमा छलफल भइरहेको एमाले मकवानपुरका सचिव नवीन सिग्देलले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.