झापामा बन्यो अर्को बुढानिलकण्ठ

रिपोर्ट नेपाल | 2019 Jun 07 | 02:33 pm 1233

बिर्तामोड, जेठ २४: झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर १० मा निर्माण भएको महालक्ष्मी निलकण्ठ श्री नारायण भगवानको श्री निवास दिव्यधाम महाकालिका संरक्षक स्वामी गोविन्द आचार्य र गोरखा ग्रीन इनर्जी कम्पनीका अध्यक्ष बसन्तबहादुर भुजेलले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

स्थानीय प्रदीप पुरी संरक्षक रहेको जलकन्या देवी शक्ति पीठ निलकण्ठ दिव्यधामको परिसरमा रहेको भगवान नारायणको प्राण प्रतिष्ठा समेत गरिएको छ । प्रतिष्ठा कार्यक्रममा स्वामी गोविन्द आचार्यले संस्कार हराए संस्कति हराउँने र संस्कृति हराउँदा देश हराउँछ भन्ने कुरालाई सबैले ख्याल गर्नुपर्ने बताएका छन् ।

अहिले मुलुक र आम नेपालीको भावना संस्कतिमाथि चौतर्फी प्रहार भइरहेकोले अव पनि चुप लागेर बसियो भने मातृभूमि रहन नसक्ने ठोकुवा पनि स्वामी आचार्यले गरेका छन् । संसारमा गिताको विषयमा अध्ययन र चर्चा भइरहेका बेला हामीले गिता बिर्सिएकोले मुलुकमा अनेक विकृति र संकट आइरहेको पनि आचार्यले बताए ।

गोरखा ग्रीन इनर्जीका अध्यक्ष बसन्तबहादुर भुजेलले संसारका राजनेताले सत्ताको सपथ खाँदा आफ्नो परिवेश अनुसार खाने गरेको स्मरण गराउँदै आफ्नो मुलुकका राष्ट्रपति, प्रधानमन्त्री र आफूलाई जनप्रतिनिधि भन्नेले ईश्वरका नाममा सपथ खान लाज मानेको प्रति दुःख व्यक्त गरे ।

अमेरिकामा बाइवल भारतमा गिता छोएर कसम खाइन्छ तर दुर्भाग्य ऋषी महर्षि जन्मेको र आरोज्य पशुपतिनाथ, मुक्तिनाथ जस्तो थुप्रै पवित्रधाम भएका नेपालका नेताले पश्चिमाको बुई चढेर धर्म संस्कृतिमाथि प्रहार गरेको पनि अध्यक्ष भुजेलले आरोप लगाए ।

अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले पछिल्लो पुस्ताले धर्म र संस्कृतिको नाममा फेसन गर्ने गरेको बताए । पूर्वी दर्शन बोकेको नेपालमा पश्चिमा फेशन चल्नु दुःखको विषय भएको मेयर रानाको भनाई रहेको थियो । स्वामी राम ढुङ्गानाले वेद र वैदिक विधिलाई विर्सदै जाँदा संस्कृतिमाथि प्रहार भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.