ज्यानै लिने कुरीति कहिलेसम्म ?

| 2022 Apr 18 | 07:32 am 181

काठमाडाैं, बैशाख ५ः संसार २१औं शताब्दीमा छ। नेपाल भने अझै रुढी र अन्धविश्वासको चपेटाबाट मुक्त छैन। चरम अन्धविश्वासको जाँतोमा महिला नै धेरै पर्ने गरेका छन्। त्यसमा पनि एकल, वृद्ध, विपन्न र असहाय महिलालाई त्यस्तो जाँतोले पिँधिरहेको छ। कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउद अन्धविश्वासको चपेटामा परेर ज्यानै गुमाउने पछिल्लो उदाहरण बनेकी छन्। कहिले मलमूत्र खुवाउने, कहिले पिट्ने त कहिले ज्यानै लिनेसम्मका यस्ता हर्कत आजका दिनसम्म नरोकिनु नेपाली समाज निकै पिछडिएको छ भन्ने उदाहरण हो। शिक्षाको पहँुच धेरैतिर पुगे पनि औपचारिक शिक्षासँगै विज्ञानसम्मत चेतनाको अभाव समाजमा देखिएको उदाहरण पनि हो यो। साउदलाई चैतको अन्तिमतिर बिसञ्चो भएको थियो। जेठानीका घरमा आएका धामीले निको पार्दिन्छौं भनेपछि उनी तिनैको विश्वासमा लागिन्। साउदको विश्वासमाथि घात गर्दै ती धामीले उनको ज्यानै लिए। कोठामा थुनेर राखे। थुनिएको छैटौं दिन उनी मृत भेटिइन्। आगो बालेर तातो फलामले उनीमाथि कुटपिट भएको देखियो।

आत्मा पसेको छ भन्दै निर्घात बिरामीमाथि तातो फलामले सेक्नु चरम यातना हो। त्यही यातनाले साउदको ज्यान गयो। वास्तवमा यो साउदको हत्या हो। उपचारका नाममा अन्धतापूर्वक फलामले डाम्नु हदैसम्मको अमानवीय अपराध हो। यो घटनामा धामीद्वय भीमदत्त–७ का ६० वर्षीय धर्मानन्द भट्ट, वडा नम्बर १ का ७२ वर्षीय नारायणदत्त भट्टसहित ७ जनालाई प्रहरीले पक्रिएको छ। उनीहरूमाथि ज्यान मार्नेसम्बन्धी मुद्दा दर्ता होला। उनीहरूलाई सजाय पनि होला। तर त्यतिकैमा अरू रञ्जुलाहरूको ज्यान जान रोकिनेवाला छैन। यो पक्का हो। नेपालको संविधान २०७२ को धारा ३८ उपधारा ३ मा महिला अधिकारको व्यवस्था छ। बोक्सीको आरोपमा दुव्र्यव्यवहार गर्नेलाई तीन महिनादेखि दुई वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रावधानसहितको कानुन पनि छ। तर पनि महिलामाथि विभेद र हिंसा रोकिएको छैन। यसको मतलब कानुनले मात्रै हुँदो रहेनछ भन्ने पनि हो।

खाँचो त्यसको कडाभन्दा कडा कार्यान्वयन र चेतनाको विस्तार नै छ। बोक्सी कुप्रथाजस्ता अन्धविश्वासको जरैदेखि निर्मूल जरुरी छ। त्यसको उपचार चेतनाको सञ्चारबाट सम्भव छ। न यो संसारमा बोक्सी हुन्छ र न कुनै धामीझाँक्रीबाट कुनै रोगको उपचार सम्भव हुन्छ। यति सामान्य विज्ञानलाई पनि बुझाउन नसक्न हाम्रै समाजको कमजोरी हो। राज्य पनि यसमा दोषी छ। चेतना फैलाउन अभियानै चलाउन राज्यस्तरबाटै कदम चालिनुपर्छ। महिला हिंसाको यस्तो जाँतोमा प्राय कमजोर वर्ग पर्ने गरेको छ। थुप्रै घटना बाहिर आउँदैनन्। गाउँठाउँमै चुपचुप पारिन्छन्। व्यावहारिक रूपमा मिलाउने भन्दै ढाकछोप गरिन्छ। जनप्रतिनिधि र ठूलाबडाहरू पनि त्यस्ता कुकृत्यमा संलग्न हुने गरेका अरू उदाहरण भेटिन्छन्। त्यो अन्यायको हदमा अगुवा नै संलग्नु हुनु झनै लज्जाजनक कुरा हो। राजनीतिक दलहरूले सत्तालाई प्रमुख एजेन्डा बनाएका छन्। तर सांस्कृतिक क्रान्तिलाई चटक्कै बिर्सेका छन्।

राजनीतिक क्रान्तिले मात्रै समाजलाई अघि बढाउँदो रहेनछ भन्ने बग्रेल्ती उदाहरण छन्। तर पनि सांस्कृतिक एजेन्डा भुलेर सत्तामा अर्जुनदृष्टि लगाउने दलहरूको कमजोरी पनि यस्ता कुप्रथा जीवित ररिरहनुको कारण हुन्। समाजलाई अग्रगतिमा डोर्‍याउने जिम्मेवारी राजनीतिको हो, नेताहरूको हो। यस्ता संवेदनशील विषय कहिल्यै तिनका एजेन्डा बनेका छैनन्। दुर्भाग्य राजनीतिक फोहोरको रसातलमा छ। कुनै महिलाको ज्यान अन्धविश्वासकै कारण जाँदा पनि कुनै दलहरूलाई छुँदैन। नेताहरूको मन दुख्दैन भने तिनीहरूले राजनीति गर्नुको पनि कुनै अर्थ छैन। अन्नपूर्ण पाेस्ट दैनिककाे सम्पादकीयबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.