जेल सजायबाट जोगिन आफ्नै मृत्युदर्ता

| 2021 Nov 25 | 07:22 am 133

सुनसरी, मंसिर ९ः  इनरुवा–७ का अजित मियाँले कैद सजायबाट जोगिन आफ्नै मृत्युदर्ता गराएको खुलेको छ। रामधुनी–५ का जैयसकुमार साहको घरमा २०६८ भदौ १७ गते भएको डकैती घटनामा अदालतले अजितसहित तीन जनालाई कसुरदार ठहर गरेको थियो। तीनमध्ये लुचाई शर्मा खत्वे पक्राउ परे पनि अजितले मृत्युदर्ता प्रमाणपत्र बनाएर आफूलाई भाइ अजिज बताउँदै आएका थिए। घटनामा संलग्न अर्का एक जना फरार छन्।

अजितले २०७५ मंसिर २७ गते मृत्युदर्ता प्रमाणपत्र बनाएको पाइएको थियो। इनरुवा–७ बाट लिएको मृत्युदर्ताको प्रमाणपत्रमा स्थानीय पञ्जाधिकारीको ठाउँमा गोपालप्रसाद खतिवडाले हस्ताक्षर गरेका छन्। उनको मृत्युदर्ता प्रमाणपत्रको नम्बर २०४६०२०१००८६४–२ छ।

सुनसरी जिल्ला अदालतले २०७५ असार ११ गते तीनै जनालाई जनही ६ वर्ष कैद र ९९ हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो।

उनले आफूलाई अजिजका रूपमा चिनाउँदै अजित भाइ भएको बताउँदै आएका थिए। उनको मृत्यु भइसकेको भन्दै आफूलाई जोगाउँदै आएका थिए। सजाय भुक्तान गरिसकेका शर्माले उनलाई अजित नै हो भनी सनाखत गरिदिएपछि यही मंसिर ६ गते उनलाई गाउँबाटै पक्राउ गरिएको सुनसरी जिल्ला प्रहरीले जनाएको छ।

साढे तीन महिनामा ५ सय ६५ फरार प्रतिवादी पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी प्रमुख सञ्जय थापाले बताए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.