जुम्लाको स्याउले ३२ करोड भित्रायो

रिपोर्ट नेपाल | 2019 Mar 20 | 11:46 am 60

जुम्ला, चैत्र ६ : जुम्लामा यस वर्ष स्याउ बिक्रीबाट ३२ करोड रुपैयाँ भित्रिएको छ। कृषि ज्ञान केन्द्रका कृषि अर्थविद् बालकराम देवकोटाका अनुसार जिल्लामा यस वर्ष पाँच हजार ६ सय मेट्रिकटनभन्दा बढी स्याउ उत्पादन भएको थियो।

जिल्लाका स्याउ कृषक प्रतिपरिवार २० हजारदेखि १० लाखसम्म आम्दानी गर्न सफल भएका छन्। गत वर्ष तीन हजार सात सय टन स्याउ बिक्री हुँदा जिल्लालाई १७ करोड आम्दानी भएको थियो। आठवटा स्थानीय तहबाट स्याउ बिक्रीका लागि करिब तीन सय व्यवसायीले अनुमति लिएका छन्।

प्रतिकेजी ५० रुपैयाँका दरले खरिद गरेका व्यवसायीले स्थानीय तहलाई पनि लाखौं कर तिरका छन्। जिल्लाबाहिर काठमाडौं, नेपालगन्ज, सुर्खेत, विराटनगर, पोखरा महेन्द्रनगरलगायत देशका प्रमुख सहरमा जुम्ली स्याउ बिक्री हुन्छ। स्याउलाई ए, बी र सी गे्रडका वर्गीकरण गरी बिक्री गरिन्छ। अन्य ग्रेडको स्याउ भने स्थानीय स्तरमै जाम, जेली, जुस, साइटर स्याउ चाना रो मदिरा बनाउन प्रयोग गरिन्छ।

केन्द्रको तथ्यांकअनुसार जिल्लाको कुल तीन हजार चार सय ५० हेक्टर जमिनमा स्याउखेती हुँदै आएको छ। कुल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैंचा स्थापना भएका छन्। हरेक वर्ष स्याउका बिरुवा बढ्दै गएका छन्। तर, बिरुवाको अनुपातमा भने स्याउ उत्पादन घट्दै गएको छ। चार वर्ष पहिले एउटा बिरुवाले दिने उत्पादन बराबर हाल तीनवटाले दिने गरेको स्याउ सुपरजोन जुम्लाले जनाएको छ।

कृषि विज्ञ धनप्रसाद देवकोटाले भने, ‘स्याउ फुल्ने समयमा असिनापर्ने, हिउँ कम पर्ने, पानी बढी पर्ने र रोगका कारण स्याउ उत्पादन घट्दैछ, यसले किसानसमेत चिन्तामा छन्।’ तर स्याउ उत्पादनसम्बन्धी ज्ञान, सीप तथा सामग्री किसानले व्यवहारमा प्रयोग नगर्दा समस्या बढेको उनको भनाइ छ।(अन्नपूर्ण पोष्ट)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.