जीवनमा अवधारणाको अर्थ र महत्व

| 2022 May 11 | 01:04 pm 209

घर-परिवारमा हामी असमान सम्बन्धहरूका बीच बाँचिरहेका छौँ । महिला, पुरुष र अन्य लिङ्गीबीचको विभेदले आदर सम्मान जगाउँदैन । समाजमा समानताको वातावरण हुनका लागि हाम्रा घरपरिवारहरूमा समानताको ब्यवहार लागु गर्नुपर्ने हुन्छ ।
  • बबिता बस्नेत

एकादेशमा एक जना राजकुमार रहेछन् । आफ्ना बाबु महाराजाको मृत्युपछि उनले खोलाकिनारमा गएर तर्पण दिन लाग्दा एकैपल्ट तीन वटा हात अगाडि आएछन् । अचम्म मानेर उनले तीन वटा अलग-अलग हात कसरी आए, यसको अर्थ के हो भनेर वरिपरि हेरेछन् । कोही बुढापाकाले यसको अर्थ खोज्नका लागि नदीकिनारमा बस्ने सेतै कपाल फुलेकी वृद्ध आमाकहाँ जान सुझाव दिएछन् । सोही किनारमा दशकौँ बिताएकी ती वृद्ध आमासामु गएर घटना विवरण दिँदै राजकुरमारले सोधेछन्- ‘यो के भएको आमा ? के मेरा तीन वटा बाबु थिए ?’ ती आमाले राजकुमारलाई ‘तिमीले पाखुरामा बाजु लगाएका छौ ?’ भनेर सोधिछन् । राजकुमारले ‘छ’ भन्दै बाजु देखाएपछि आमाले भनिछन्- ‘हो राजकुमार, तिम्रा तीन वटा बाबु थिए ।’ ती आमाको जवाफपछि छक्क पर्दै राजकुमारले ‘तपाईं कसरी यस्तो भन्न सक्नुहुन्छ ? तपाईंसँग के प्रमाण छ ?’ भनेर सोधेछन् । आमाले भनिछन्- ‘त्यसको प्रमाण म आफै हुँ, म नै तिम्री त्यो अभागी आमा हुँ ।’

त्यसपछि राजकुमारको हात पक्डिएर उनले कहानी बताइन्- ‘म किशोरी थिएँ, म हुर्किएको देशको राजकुमारलाई ठुलो मुद्दा लागेपछि मृत्युदण्ड दिने निर्णय गरियो । जेलमा मृत्युदण्ड दिनुअघि अन्तिम इच्छाका बारेमा उनलाई सोधिएछ । उनले विवाह गर्ने र कसैलाई जिन्दगीमा एकपल्ट आफ्नी पत्नी बनाएर मर्ने इच्छा ब्यक्त गरेछन् । फाँसी सजाय हुन लागेको राजकुमारलाई कसले पो छोरी दिन्थ्यो र ? मेरो परिवार गरिब थियो । बाबु-आमा निर्धन थिए । गाउँमा कसैले राजकुमारलाई छोरी दिए जिन्दगीभर सुखी हुने कुरा मेरो बुबा र परिवारलाई बताएछन् । सम्पत्तिको लोभमा हत्कडी लागेका राजकुमारसँग मेरो विवाह भयो । विवाह त भयो तर हामीलाई सँगै बस्न दिइएन । राजकुमार र म फलामको बार वारिपारि बस्थ्यौँ । त्यत्तिकैमा दिन बित्दै गए, उनको मृत्युदण्डको दिन पनि आयो । हामी सँगै बस्न नसके पनि फलामे बारको प्वालबाट एकर्काको हात समाउन भने सक्थ्यौँ । मृत्युदण्ड दिनु अघिल्लो रात राजकुमारको हात समाएर म खुब रोएँ । आखिर यो सबै जान्दाजान्दै तपाईंले किन विवाह गर्नुभयो ? म अब कसरी जिन्दगी बिताउनु ? भनेँ । उनले मसँग माफी मागे । मलाई एउटा बाजु, सुनको सिक्का र बहुमुल्य जुहारतहरू दिँदै भने- तिमी यो बेच र राम्रो घर किन । एक जना यस्तो मान्छे खोज जसले तिमीसँग एक पल्टलाई शारीरिक सम्बन्ध राखोस् र त्यहाँबाट बिदा होस् । उसको मुख थुन्नका लागि तिमी उसलाई सम्पति देउ र कहिल्यै फर्किएर नआउने बाचा गराउ । त्यसपछि तिमी गर्भवती हुनेछौ, छोरा जन्मिने छ । उ हाम्रो छोरा हुनेछ । यो बाजु बच्चालाई लगाइदेउ, आमा-छोरा सुखका साथ जीवन बिताउ ।’

‘राजकुमारलाई मृत्युदण्ड भयो, मैले उनले भनेझैँ गरेँ । तर त्यो मान्छे बेइमान निस्कियो । तिमी जन्मिएपछि त्यो फर्किएर आयो, मैले अपनाउने कुरै थिएन । हामी आमा-छोराको संसार बर्बाद नगर भनेर सम्झाउँदा उसले मानेन । जबर्जस्ती गरेपछि मैले त्यसलाई मारेँ र घरको मझेरीमा गाडेँ । अब म त्याहाँ बस्न सक्ने अवस्था थिएन, तिमीलाई बोकेर त्याहाँबाट भागेँ । हिँड्दै जाँदा नदी भेटेँ र किनारमा तिमीलाई छोडेँ । परबाट आउँदै गरेका यो देशका राजाले तिमी रोएको सुने । उनका सन्तान थिएनन्, उनले तिमीलाई धर्मपुत्रका रूपमा लिए र राजकुमार बनाए । यसरी तिम्रा तीन वटा बाबु भए ।’

कहिलेकाहीँ काम गर्दै जाँदा, जीवन बाँच्दै जाँदा सोचे जस्तो नहुन सक्छ जसरी माथि उल्लेखित कथामा ती महिला र राजकुमारले सोचेजस्तो भएको थिएन । अवधारणामा हामी स्पष्ट भयौँ भने जीवन त्यति ‘कम्प्लिकेटेट’ हुँदैन जति हामी बनाइरहेका हुन्छौँ ।

सबै कुरा सुनिसकेपछि राजकुमारले आमालाई प्रश्न गरे- ‘त्यसोभए, मेरा असली बाबु को हुन् ? मैले अब तर्पण कसलाई दिने त ?’

‘तिमीलाई ज-जसले जे गरेका भए पनि तिमी उही राजकुमारको अवधारणा हौ जोसँग मैले विवाह गरेकी थिएँ । यदि उनले त्यसो नभनेका भए तिमी अहिले यो संसरमा हुने थिएनौ । अवधारणा सबै भन्दा ठुलो कुरा हो बाबु, तिमीले ती राजकुमारलाई नै आफ्ना पिता मान्नुपर्छ । तिमीले उनैको श्राद्ध गर, तर्पण देउ ।’

कुनै पनि कुराको अवधारणा आफैमा कति ठुलो कुरा हो भन्ने कुरा माथि उल्लेखित कथाले स्पष्ट गर्छ । पछि बन्ने संरचना, नेतृत्वलगायतका कुराहरू जोडिएर आए पनि ती सबैभन्दा महत्वपूर्ण कुराचाहिँ सपना कसले देख्यो र त्यसले कसरी साकार रूप लियो भन्ने हो । यो कुरा मुलुक, समाज, परिवारदेखि मानिसको ब्यक्तिगत जीवनमा समेत लागु हुन्छ । नेपाल देश बनाउने अवधारणा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको थियो । यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो भनेर अभिब्यक्ति दिनुको अर्थ मुलुक बनाउने उत्तरदायित्व सबै नेपालीको हो भन्ने हो । मुलुकलाई कसरी अघि बढाउने भन्ने कुरा समयसँगै पविर्तन हुने ब्यवस्था र नेतृत्वको हो । तर अवधारणाअनुरुप मुलुक अघि बढ्न सकेको अवस्था छैन ।

यसैगरी हाम्रो समाज कता लाने, कसरी अघि बढ्ने भन्ने विषयमा एकार्काको आदर र सम्मानलाई मुख्य केन्द्रबिन्दु बनायौँ भने समाज सधैं शान्तिपूर्ण हुन्छ । समाजलाई यी दुई कुराले डोऱ्याउनुअघि परिवारमा हामीले यस्तो अवधारणा लागु गर्नुपर्ने हुन्छ । घर-परिवारमा हामी असमान सम्बन्धहरूका बीच बाँचिरहेका छौँ । महिला, पुरुष र अन्य लिङ्गीबीचको विभेदले आदर सम्मान जगाउँदैन । समाजमा समानताको वातावरण हुनका लागि हाम्रा घरपरिवारहरूमा समानताको ब्यवहार लागु गर्नुपर्ने हुन्छ । हाम्रा पुर्खाले बाबुको सम्मानका लागि बाबुको मुख हेर्ने दिन, आमाको सम्मानका लागि आमाको मुख हेर्ने दिन, दिदीबैनीको सम्मान र मायाका लागि तीज, दाजुभाइप्रतिको आदर र मायाका लागि जनैपूर्णिमा र तिहार जस्ता रीतिरिवाजहरूको अवधारणा बनाएका थिए । हामीमध्ये धेरैले अहिले यिनलाई पछ्याइरहेका छौँ । यसरी परिवारका सबै सदस्यका लागि एकार्काप्रतिको सम्मान ब्यक्त गर्ने दिन तोकिनुको अर्थ वर्षभरी त्यस्तै सौहाद्र्धपूर्ण सम्बन्ध रहोस् भन्ने हो भनी बुझ्न गाह्रो पर्दैन । हाम्रा रीतिरिवाजहरूको अवधारणा नराम्रो कुनै पनि छैन, हामीले अभ्यास गर्ने क्रममा तिनलाई कसरी अघि बढायौँ त्यो हाम्रो दक्षता, क्षमता र नियतको कुरा भयो ।

मानिसको ब्यक्तिगत र ब्यवसायिक दुवै जीवनमा अवधारणाको महत्व विशाल छ । तपाईं के गर्न खोजिरहनुभएको छ ? जीवन प्रतिको दृष्टिकोण के हो ? तपाईं आफूलाई कस्तो ब्यवहार गर्नुहुन्छ ? त्यसले हाम्रो जीवनशैलीलाई निर्देश गरिरहेको हुन्छ । त्यसैले अवधारणागत स्पष्टताका साथ जीवन अघि बढाउँदा बाँच्न सहज हुन्छ । कुनै पनि काम गर्दा म किन गरिरहेको छु ? कुनै पनि ठाउँमा जाँदा म कहाँ गइरहेको छु ? कुनै पनि शब्द बोल्दा मेरो बोलीले कसलाई के असर या प्रभाव पर्छ ? जस्ता कुरामा स्पष्ट हुन जरुरी छ । कहिलेकाहीँ काम गर्दै जाँदा, जीवन बाँच्दै जाँदा सोचे जस्तो नहुन सक्छ जसरी माथि उल्लेखित कथामा ती महिला र राजकुमारले सोचेजस्तो भएको थिएन । अवधारणामा हामी स्पष्ट भयौँ भने जीवन त्यति ‘कम्प्लिकेटेट’ हुँदैन जति हामी बनाइरहेका हुन्छौँ । घटाना र विचारबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.