जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट सुरक्षा मापदण्ड कार्यान्वयनको अनुगमन

रिपोर्ट नेपाल | 2020 Jun 28 | 09:09 pm 39

म्याग्दी, असार १४ः लकडाउन (बन्दाबन्दी) खुकुलो गर्ने नेपाल सरकारको निर्णयसँगै व्यापार व्यवसाय र व्यक्तिगत हिँडडुलमा आएको वृद्धिसँगै आउन सक्ने सम्भावित चुनौति र समुदायमा संक्रमण फैलन सक्ने सम्भावनालाई न्यूनीकरण गर्नका लागि जिल्ला प्रहरी कार्यालय म्याग्दीले बजार अनुगमनलाई तिब्रता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक किरण जंग कुँवरको नेतृत्वमा अनुगमन गरिएको हो ।

बेनी बजारका करिब ३ सय ५० वटा पसल, व्यवसाय र संघसंस्थाहरू, प्रत्येक घरघरमा बन्दाबन्दीलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले ल्याएका सुरक्षा मापदण्डहरूको कार्यान्वयनको अवस्थालाई अनुगमन गरी मापदण्ड पूरा नगर्ने पसल तथा व्यवसायहरूलाई चेतावनी दिई तुरुन्त आवश्यक व्यवस्था गर्न अनुरोध गरिएको थियो ।

अनुगमनको क्रममा पसल तथा व्यवसायीहरूले हात धुने साबुन पानी, स्यानीटाईजरको व्यवस्था , सामाजिक दुरी कायम गर्ने, माक्सको अनिवार्य प्रयोग, भिडभाडलाई कम गर्ने तथा सवारी साधनहरूले जोर बिजोर प्रणाली पालना गरेको वा नगरेको, ग्राहक तथा सार्वजनिक स्थानमा हिँडडुल गर्ने सर्वसाधारणहरूले सामाजिक दुरी कायम गरे नगरेको तथा माक्सको अनिवार्य प्रयोग गरे वा नगरेको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा करिब ७५ प्रतिशत पसल, व्यवसाय तथा संघसंस्थाहरूले सुरक्षा मापदण्ड पालना गरेको पाईएको छ ।

नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट कोभिड १९ सम्बन्धी अनुशासन पालना नगरी उल्लेखित मापदण्डहरूको अवज्ञा गर्ने व्यक्ति तथा व्यवसायिहरूलाई निरन्तर अनुगमन गरी प्रचलित कानून बमोजिम कारवाही समेत गरिने बताइएको छ ।

नेपाल सरकार मन्त्रीपरिषदबाट निर्णय भई २०७६ साल चैत महिनाबाट लागू गरिएको बन्दाबन्दीको कार्यान्वयनको अनुगमनको क्रममा हालसम्म सुरक्षा मापदण्डको अवज्ञा गर्ने ६१ वटा सवारी साधनलाई नियन्त्रणमा लिई प्रचलित कानून बमोजिम कारबाही गरिएको छ ।

५७ जनालाई संक्रामक रोग ऐन २०२० अन्तर्गत कानूनी कारवाही गरिएको छ । उल्लेखित कारवाहीमा जिल्ला प्रशासन कार्यालयबाट आवश्यक कारवाही गरी करिब ५० हजार राजश्व संकलन भएको छ ।

सुरक्षा मापदण्डको पालना गरे नगरेको सम्बन्धमा नियमित फ्लो अफ र अनुगमन गरी बारम्बार अवज्ञा गर्ने व्यवसाय र संस्थाहरूलाई प्रचलित कानूनको दायरामा रही कारवाही गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.