जिन्दगीको शून्य समय !

| 2020 Sep 16 | 09:31 am 54

■ बबिता बस्नेत

कुनै कुराको अन्त्य भएर नयाँ सुरुवात हुनुअघिको समय ‘शून्य समय’ हो । शून्य अर्थात् खाली समय जसलाई ‘जिरो आवर’ पनि भनिन्छ । संसदमा प्रश्न गर्ने समयलाई शून्य समय भन्ने गरिन्छ । कोभिड–१९ ले हाम्रो जीवनमा पनि शून्य समय सिर्जना गरिदिएको छ । कोरोनाका कारण आफूले गरिरहेको काम, पेशा, ब्यवसाय ‘जिरो’बाट सुरु गर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर कोरोना कहिलेसम्म रहन्छ होला ? लामो समयसम्म यस्तै भयो भने के गर्ने होला ? कति दिनसम्म यसरी घर बस्ने होला ? रोजगारी गुम्यो, अब के गर्ने होला ? टाढा रहेका आफन्तलाई भेट्न पाइएला कि नपाइएला ? निर्धक्क हिँडडुल गर्ने वातावरण कहिले बन्ला ? के फेरि पहिलाकै अवस्थामा पुग्न सकिएला ? अहिले हामी यी र यस्ता अनेक प्रश्नले घेरिएर समय बिताइरहेका छौँ ।

यो समय भन्ने पनि अचम्मकै रहेछ । हिजो अर्कै ग्रहमा पुग्नुपर्नेझैँ गरी दौडधुप गर्दा पनि बितिरहेको थियो, अहिले बाहिर निस्किँदा केही भइ पो हाल्ने हो कि भनेर घरमै सीमित हुँदा पनि बितिरहेको छ । हामी भागदौडमा रहँदा जसरी पृथ्वी घुमिरहेको थियो अहिले पनि त्यसैगरी घुमिरहेको छ । सूर्य, चन्द्रमा, तारा, प्रकृति सबैले आ–आफ्नो काम हिजो जसरी गरेका थिए आज पनि त्यसैगरी गरिरहेका छन् । यो विषम परिस्थितिले मान्छेबाहेक अरु कसैलाई फरक पारेको छैन । युरोप, अमेरिका, अफ्रिका, एशिया, दक्षिण एशिया, धनी, गरिब, शिक्षित, अशिक्षित, दक्ष, विज्ञ, साक्षर, निरक्षर सबै मान्छेलाई उत्तिकै या उस्तै असर परेको छ । कुनै पनि देशको संविधान, कानून, संयुक्त राष्ट्र सङ्घका प्रस्ताव, निर्देशन केहीले पनि बन्द गर्न नसक्ने चलायमान विश्वलाई ठप्प पार्ने काम कोभिड–१९ ले गऱ्यो, गरिरहेको छ ।

अहिले टुँडिखेलमा मनकारीहरूले गर्दै आएको काम राज्यले गर्नुपर्थ्यो, पर्छ । छाक टार्नै समस्या हुनेहरूको सङ्ख्या कति छ ? राज्यले तथ्याङ्क राखेर परिस्थिति राम्रो नहुञ्जेल खाने ब्यवस्था गर्नुपर्छ ।

आफ्नै रफ्तारमा चलिरहेको जीवनमा यस्तो परिस्थिति पनि आउन सक्छ भनेर सोचिएकै थिएन । कोरोना प्रकोपपछि कल–कारखाना बन्द भए, गाडी ब्यवसायीका गाडीमा खिया लागे, बैंकबाट ऋण लिएर गरेका ब्यापार–ब्यवसाय टाउको उठाउनै नसक्ने अवस्थामा पुगे । विज्ञापन नपाएर मिडिया धमाधम बन्द हुँदैछन् या जो चलिरहेका छन् तिनले पनि पत्रकार र कर्मचारीलाई तलब दिन सकेका छैनन् । विद्यालयमा पढाउने आधाभन्दा बढि शिक्षकहरू बेतलबी घर बसिरहेका छन् । गैरसरकारी संस्थामा आवद्धहरू कार्यालय धान्न नसकेर एउटा, दुइ वटा कोठामा सीमित हुँदैछन्, आफूसँग सीप, दक्षता र अनुभव भएका कर्मचारीहरूको पनि जागिर गुमेको छ । बन्दाबन्दी र निषेधाज्ञामा घरमा बस्दाबस्दै कतिको जागिर छुट्यो । वर्षौंदेखि कामकाजी जीवनमा रहेकाहरू एकाएक बेरोजगार भए । रेष्टुरेन्ट, होटेल, पर्यटन असर नपरेको कुनै पेशा–ब्यवसाय छैन । यी सबै ठाउँमा असर पर्नुको अर्थ मानिसको जिन्दगीमा प्रत्यक्ष असर पर्नु हो ।

सकारात्मक भएर हेर्दा मानिसलाई आफ्नो हैसियतका बारेमा जानकारी प्राप्त गर्नका लागि कोरोनाले एउटा राम्रो अवसर दिएको छ । प्रायः मानिसहरू यति ठूलो भ्रम साथमा राखेर हिँडिरहेका हुन्छन् कि संसार भन्नु नै आफैं हो भन्ने लागिरहेको हुन्छ । अहिले प्रकृतिले मानिसलाई तिमी नभए पनि संसार चल्छ है भन्ने अनुभूति गर्ने अवसर पनि दिएको छ । मानिसहरू घरभित्र लुकेर बस्दा पनि संसार त चलिरहेकै छ । यस प्रकारको समय जीवनमा बारम्बार आउँदैन । यसअघि हामीलाई आफ्नो बारेमा पछाडि फर्किएर हेर्ने फुर्सद नै थिएन तर अहिले मानिसले आफ्नो पृष्ठभूमि, विगतलगायतका कुरा पनि हेर्न थालेका छन् । आफूले संसारै ठानेका मानिसले अप्ठ्यारो अवस्थामा कस्तो ब्यवहार गरिरहेका छन् अनुभव गर्ने मौका पाएका छन् । कोरोना लिएर आउने हो कि भनेर तर्किरहेका आफन्तहरू, सङ्क्रमित भइसकेपछि आफन्त र छिमेकीले गरेका ब्यवहारहरू, आफूसँग केही हुँदा र नहुँदा आउने टेलिफोन कलका सङ्ख्या र सन्देशलगायतका सन्दर्भमा मानिसले नयाँ अनुभव गर्ने अवसर पनि पाएका छन् । जुन कुराहरूको अनुभव गर्न अवकाश प्राप्त जीवनमा पुग्नु पर्थ्यो ती कुराहरू अवकाशको उमेर नपुग्दै महसुस गर्न पाउनु आफैंमा एउटा अवसर हो ।

शून्यबाट माथि कसरी अङ्कहरू थप्दै जाने ? काममा मात्र होइन कतिको भावना र मानसिकतामा पनि क्षति पुगेको छ । त्यसलाई कसरी सामान्य बनाउने ? अहिले जे भइरहेको छ त्यसलाई शून्य समय ठानेर कसरी अगाडि बढ्ने ? तयारी आवश्यक छ ।

यति हुँदाहुँदै पनि शून्य समयको सदुपयोग कसरी गर्ने भन्नेचाहिँ हाम्रै हातमा छ । आफूसँग भएको प्रतिभालाई उजागर गर्ने अवसर पनि हो यो । लेखन, गीत–सङ्गीत, साहित्य, चित्रकलालगायतमा रुचि भएका तर समय नपाएका सिर्जनशील ब्यक्तिहरूका लागि यो सदुपयोग गर्न सकिने समय हो । सबैभन्दा गाह्रोचाहिँ मजदूर तथा बिहान–बेलुका हातमुख जोड्नै गाह्रो हुने वर्गलाई हो । छाक टार्नै समस्या हुनेहरूको सङ्ख्या कति छ ? राज्यले तथ्याङ्क राखेर परिस्थिति राम्रो नहुञ्जेल खाने ब्यवस्था गर्नुपर्छ । अहिले टुँडिखेलमा मनकारीहरूले गर्दै आएको काम राज्यले गर्नुपर्थ्यो, पर्छ । खासमा हामी नेपालीहरूको बचाएर राख्ने बानीकै कारण अहिलेसम्म हाहाकार मच्चिएको छैन । विकसित मुलुकमा कोरोनाका कारण बेरोजगार भएकाहरूका लागि राज्यले भत्ता दियो, दिइरहेको छ । राज्यले सहयोग नगरेको भए के हुन्थ्यो यसै भन्न सक्ने अवस्था छैन । तर, हामीकहाँ आधा वर्षसम्म राज्यले अलिकति सहयोग नगर्दा पनि मानिस बाँचिरहेका छन् । यसको श्रेय ‘भोलि के हो के हो बचाउनु पर्छ’ भन्दै जोहो गर्ने हाम्रो मानसिकतालाई जान्छ ।

जिन्दगीको यो शून्य समयमा बसेर हामीले सोच्नुपर्नेमध्ये अबको बाटो मुख्य कुरा हो । नयाँ परिवेशमा जीवनलाई कसरी सहज बनाउने ? आफूले विगतमा गरिरहेको काम अहिलेको अवस्थामा सही होला कि नहोला ? जीवन धान्नका लागि काम त गर्नैपर्छ तर के गर्ने ? कुन पेशा ब्यवसाय अँगाल्ने ? यो ६ महिनाको अवधिमा धेरै मानिसहरू शून्यमा झरेका छन् । शून्यबाट माथि कसरी अङ्कहरू थप्दै जाने ? काममा मात्र होइन कतिको भावना र मानसिकतामा पनि क्षति पुगेको छ । त्यसलाई कसरी सामान्य बनाउने ? अहिले जे भइरहेको छ त्यसलाई शून्य समय ठानेर कसरी अगाडि बढ्ने ? तयारी आवश्यक छ ।

अनुशासनमा खासै रुचि नभएकाले विकसित मुलुकमा झैँ हामीकहाँ भौतिक दूरी, मास्क, फेससिल्डलगायतका कुराहरूसहितको ‘न्यु नर्मल’ कायम गर्न त्यति सहज होला जस्तो लाग्दैन । निषेधाज्ञा खुलेको दिनदेखि नै बजारमा देखिएको चहलपहल र भीडभाडले सर्वसाधारणले परिस्थितिलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।

कतिपय देशमा ‘न्यु नर्मल’ भन्दै आवश्यक सतर्कतासहित मानिसहरू सामान्य अवस्थामाझैँ कामकाजमा फर्कन थाले । हामीकहाँ पनि ‘न्यु नर्मल’ कसरी स्थापित गर्ने ? ठुलो चुनौती छ । अनुशासनमा खासै रुचि नभएकाले विकसित मुलुकमा झैँ हामीकहाँ भौतिक दूरी, मास्क, फेससिल्डलगायतका कुराहरूसहितको ‘न्यु नर्मल’ कायम गर्न त्यति सहज होला जस्तो लाग्दैन । निषेधाज्ञा खुलेको दिनदेखि नै बजारमा देखिएको चहलपहल र भीडभाडले सर्वसाधारणले परिस्थितिलाई गम्भीरतापूर्वक लिएको देखिँदैन ।

त्यसो त, जुल्स, नारा नलगाइ, भीडले आवाज नउठाइ सुनुवाइ नहुने हुँदा हामीकहाँ स–साना कुराका लागि पनि हुल जम्मा हुनुपर्ने बाध्यता पनि छ । तर भोलिका दिन पहिलाजस्तै होलान् भनेर हामीले केही वर्षका लागि कल्पना गर्न हुँदैन । जीवनलाई कम जोखिमपूर्ण बनाउनका लागि हाम्रो सोच, शैली र जीवनप्रतिको दृष्टिकोण बदल्नु पर्छ । जिन्दगी रहे संसार आफ्नो हुने हो, जिन्दगी नै रहेन भने केही गर्नुको अर्थ हुँदैन । जिन्दगीको यो शून्य समयबाट माथि उठ्नका लागि विगतको भागदौडपूर्ण या भीडभाडयुक्त परिवेशभन्दा फरक रणनीति आवश्यक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.