जंगलमा लागेको आगो निभाउन जाँदा तीन जनाको मृत्यु

| 2019 May 14 | 07:47 pm 64

सल्यान, वैशाख ३१: जिल्लाका विभिन्न सामुदायिक वनमा भिषण आगलागी भएको छ । सामुदायिक वनमा लागेको आगो गाउँमा पस्न लागेपछि आगो निभाउने क्रममा ३ जनाको मृत्यु भएको छ ।

जंगलमा लागेको आगो घरमा लाग्ने भएपछि निभाउने जाँदा छत्रेश्वरी गाउँपालिका ६ सिमपानीका ५५ वर्षीया पुन्टी बोहरा र शारदा नगरपालिका ९ दुवेरीका ६० वर्षीय गोवर्धन पुनको यही वैशाख २८ गते घटनास्थलमै मृत्यु भएको थियो ।

त्यस्तै आगलागीमा परी गम्भीर घाइते भएका छत्रेश्वरी ६ सिमपानीका ४० वर्षीय खगेन्द्र बोहराको उपचारका क्रममा मंगलबार काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाका सुरक्षा निकाय तथा स्थानीयले आगो निभाउने प्रयास गरे पनि नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउन जिल्लामा पर्याप्त साधन उपलब्ध नभएकाले आगो नियन्त्रणमा आउन नसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक विमल डाँगीले बताए ।

जिल्लाका कपुरकोट, छत्रेश्वरी, कालीमाटी गाउँपालिका र शारदा नगरपालिका भित्रका सामुदायिक वनमा भिषण आगलागी भइरहेको डिभिजन वन कार्यालयका अधिकृत थीरबहादुर कार्कीले जानकारी दिए ।

हालसम्म आगोले जिल्लाका ११ सामुदायिक वनको तीन हजार हेक्टर बढी क्षेत्रफल वन सखाप भएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.