छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, सात घाइते

रिपोर्ट नेपाल | 2020 Jan 09 | 02:44 pm 333

उदयपुर, पुस २४ः बुधबार साँझ उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

दुर्घटना जिल्लाको ताप्ली गाउँपालिका २ मा बोलेरो र त्रियुगा नगरपालिका ९ मा अटो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो।

ताप्ली गाउँपालका २ स्थित धपेनीमा साँझ ६ बजे मे १ ज २६६२ नं को बोलेरो कटारी–माझखर्क सडक खण्डको रामपुर झिल्केबाट कटारीतर्फ आउँदै गर्दा घुम्ती सडकमा व्याक गर्ने क्रममा पल्टेर ५० मिटर तल खस्दा दुई जनाको मृत्यु भएको र चालकसहित ४ जना घाईते भएका छन्।

उक्त दुर्घटनामा परी ताप्ली २ लेकखर्कका २६ वर्षीय मिलन राई र झापा विर्तामोडका ३३ वर्षीय महेन्द्र राईको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले जानकारी दिए।

घाईते हुनेहरुमा ताप्ली ३ लेकखर्ककै २७ वर्षीय बाबु राई र सोही ठाउँकी ४० वर्षीया रसमाया राई, ताप्ली २ बाछाङका ३२ वर्षीय मोतिलाल राई र चालक ताप्ली १ ओख्लेका २१ वर्षीय कोमलराज मगर सामान्य घाईते भएको प्रहरीले जनाएको छ।

गम्भीर घाईते भएका दुई जनालाई कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि विराटनगर रिफर गरिएको छ भने सामान्य घाईते भएकालाई कटारीमै उपचार भईरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ।

त्यसैगरी सदरमुकाम गाईघाटनजिकै भएको अटो दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका ७ चुहाडेकी २० वर्षीया सीमा दनुवार रहेका छन् ।

सदरमुकाम गाईघाटदेखि चुहाडेतर्फ जाँदै गर्दा स १ ह ३८११ नं को अटो अनियन्त्रित भई पल्टिँदा गम्भीर घाईते भएकी सीमाको उपचारको क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको हो।

सोही अटोमा सवार त्रिनपा ७ कि २० वर्षीया मन्दिरा बस्नेत, ६० वर्षीय गोविन्द कार्की र ३७ वर्षीया मञ्जु दनुवार घाईते भएका छन् ।

दुर्घटनामा गम्भीर घाईते भएकी मन्दिरा बस्नेतलाई थप उपचारका लागि विराटनगर रिफर गरिएको छ भने अन्य दुई जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको छ ।

उक्त अटो चालक त्रिनपा ४ का २८ वर्षीय होमबहादुर विक सामान्य घाईते भएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको एसपी वीरबहादुर बुढा मगरले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.