गुल्मी, चैत १३ः गुल्मीमा चैत २५ देखि बैशाख ४ सम्म सञ्चालन हुने चौंथो गुल्मी महोत्सवको तयारीलाई तिब्र पारिएको छ । सदरमुकाम तमघासको चिदिचौर खेल मैदानमा आयोजना हुने महोत्सवको अहिले मञ्च निर्माण लगायतका कामहरु धमाध भइरहेको छ ।
महोत्सवको मिति नजिकिन थालेपछि महोत्सवको प्रचार प्रचार समेत तिब्र पारिएको महोत्सव प्रचार प्रसार समितिका संयोजक ताराप्रसाद भुसालले बताए । महोत्सवलाई थप प्रभावकारी बनाउनको लागि स्थानीय तहसम्म पुगेर प्रचार प्रसार समितिले सबैलाई निम्तो दिन थालिएको उनको भनाई छ ।
गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेल, रामप्रसाद पन्थीको नेतृत्वमा परिचालन गरिएको प्रसार प्रसार समितिले जिल्ला स्थानीय तह तहमा पुगेर त्यहाँका जनप्रतिनिधिहरुलाई समेत भेटघाट गरेको छन् । चार गाउँपालिका र एक नगरपालिकामा प्रचार प्रसार समितिले पाँच वटै क्षेत्रमा पुगेर नगर प्रमुख गाउँपालिका अध्यक्ष उपप्रमुख प्रशासकीय अधिकृतहरुसँग छलफल गरेका छन् ।
महोत्सवलाई कसरी प्रभावकारी बनाउने र स्थानीय स्तरमा रहेका विभिन्न कला, संस्कृति, कृषि, व्यापार तथा उद्योग लगायतका सामाग्री र प्रस्तुतिहरुलाई उल्लेख्य मात्रमा महोत्सवमा कसरी सहभागी गराउने भन्ने बिषयमा छलफल गरिएको भुसालले जानकारी दिए ।
स्थानीय तहले गाउँ घरमा उत्पादन भएका वस्तुहरु महोत्सवमा ल्याउने बताका छन् । गुल्मी उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको चौंथो गुल्मी महोत्सव आर्थिक, साँकृतिक एवम् पर्यटकीय हिसाबले पनि अत्यन्तै महत्वपूर्ण रहेको भन्दै महोत्सवलाई स्थानीय तहबाट सक्दो सहयोग गर्ने जनाएको प्रचार प्रसार समितिका संयोजक भुसालले बताए ।
महोत्सव अवधिभर दुई दर्जन राष्ट्रिय कलाकार तथा चार दर्जन स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सवका सांस्कृतिक संयोजक इश्वरीप्रसाद कंडेलले जानकारी दिए । उनले महोत्सव अवधिभर नै प्रत्येक दिन पालिकाका छुट्टाछुट्टै सांस्कृतिक झाँकी रहने बताए ।
महोत्सवमा चर्चित कलाहरु बद्री पंगेनी, चन्द्र शर्मा, पशुपति शर्मा, प्रकाश सपूत लगायतका ख्यातिप्राप्त कलाहरुको प्रस्तुति रहने कंडेलले जानकारी दिए । महोत्सवमा स्थानीय लोक भजनलाई समेत प्राथमिकतामा राखिएको कंडेलले जानकारी दिएका छन् ।
गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास भन्ने नाराका साथ चौथो गुल्मी महोत्सव, प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको आयोजना गरिएको हो ।
चौथो गुल्मी महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष पौडेलले बताए । महोसत्वमा दुई सय स्टल रहनेछन् ।महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ ।
महोत्सवमा कृषि तथा घरेलु उत्पादनलाई प्राथमिकता दिने गुल्मी उद्योग बाणिज्य संघ गुल्मीका उपाध्यक्ष रामप्रसाद पन्थीले बताए । जिल्लामा उत्पादित कफी, सुन्तला, तरकारी, माहुरी, च्याउ, जिल्लाको प्रसिद्ध गुणका परिकार लगायत अरू कृषिजन्य सामग्री महोत्सव अवधिभर राखिने छ ।
अम्मरपुरको कुमाल समुदायले सेरामिक्सबाट निर्माण गरेका माटोका कलात्मक बस्तुहरु, महोत्सव अवधिभर राखिने छ । त्यस्तै बाँस तथा निगालोबाट बन्ने अन्य कलात्मक सामग्रीहरूलाई उच्च प्राथामिकताका साथ राखिने पन्थीले बताए । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औद्योगिक क्षेत्रको प्रवर्द्धनसँगै पवित्र तपोभुमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार समेत गरिने गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।