काठमाडौं, चैत १३: नेपालको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यी स्वदेश प्रस्थान गरेका छन् । विदेशमन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाइ गरे। उनी विशेष विमानबाट स्वदेश फिर्ता भएका हुन् ।
परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणामा नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले राजधानी बसाइका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।
तीन दिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले शनिबार दिउँसो पराराष्ट्रमन्त्री खड्कासँग भेटवार्ता गरेका थिए। सोही क्रममा नेपाल-चीनबीच विभिन्न ९ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको थियो। नेपालका तर्फबाट डा.नारायण खड्का र चीनका तर्फबाट चिनियाँ विदेशमन्त्री वाङ यीले द्विपक्षीय बैठकको नेतृत्व गरेका थिए।
शनिबारै विदेशमन्त्री वाङले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग द्विपक्षीय छलफल गरेका थिए । छलफलका क्रममा वाङले प्रधानमन्त्री देउवासँग नेपालको आन्तरिक र बाह्य सुरक्षा अवस्थाका विषयमा चासो राखेका थिए। प्रधानमन्त्री देउवाले विदेशमन्त्री वाङलाई नेपालमा चीनविरोधी गतिविधि हुन नदिन आश्वस्त पारेका थिए।
सोही क्रममा प्रधानमन्त्री देउवाको उपस्थितिमा विदेशमन्त्री वाङले चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तराष्ट्रिय विमानस्थलको चाँबी परराष्ट्रमन्त्री डा. खड्कालाई हस्तान्तरण गरेका थिए। सो विमानस्थलको ९३ प्रतिशत काम सकिएको बताइएको छ।