चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार नेपाल आउने, सुरक्षा व्यवस्था कडा पारियाे

रिपोर्ट नेपाल | 2019 Oct 09 | 11:28 am 51

काठमाडौँ, २२ असोज :  चिनियाँ राष्ट्रपति सी जिनपिङको आसन्न नेपालको राजकीय भ्रमणको तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणामा सी दुई दिने नेपाल भ्रमणका लागि आगामी असोज २५ गते शनिबार नेपाल आउन लागेका हुन् ।

मन्त्रालयका अनुसार भ्रमणका क्रममा राष्ट्रपति सीले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि भोजको आयोजना पनि गर्नेछिन् ।

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता गर्नेछन्। वार्तापछि दुई देशबीच समझदारी पत्र र एमओयूमा हस्ताक्षर गरिनेछ । त्यस्तै, सीले विभिन्न पार्टीका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

२२ वर्षपछि  चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गर्ने भएका छन् । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए ।

त्यसयता चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका थिएनन् । गत २०१६ मा सीले नेपाल भ्रमण गर्ने भनिएपनि स्थगित भएको थियो । सन् २०१२ मा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए ।

सुरक्षा व्यवस्था कडा 

करिब २२ वर्षपछि हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणलाई लिएर नेपालीले तयारी तीब्र बनाएको छ । काठमाडौंका सडकहरु सिघाँरिएका छन् भने सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

भ्रमणका क्रममा सीको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका अधिकृत खटिनेछन् । उनलाई सरकारीले विशिष्ट तहको ‘जेड प्लस’ सुरक्षा प्रदान गर्ने तयारी गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.