चितुवाको छाला र खप्परसहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2022 Apr 17 | 03:30 pm 241

काठमाडौं, बैशाख ४: बुढानिलकण्ठ-८ गल्फुटारस्थित पूर्व-पश्चिम गेष्ट हाउसबाट प्रहरीले चितुवाको छाला र खप्पर बरामद गरेको छ। गैरकानुनीरुपमा बेचविखन गर्न ल्याइएको उक्त सामानसहित प्रहरीले ४ जनालाई प्रक्राउ गरेको छ।

पक्राउ पर्नेमा प्रहरीले गुल्मी चन्द्रकोटे वर्ष ३५ का बिष्णु सुनार, ओखलढुङ्गा खिजिघोम्बा घर भई हालः जिल्ला भक्तपुर बस्ने वर्ष २९ का फुरी शेर्पा, धादिङ गजुरी घर भई हालः जिल्ला भक्तपुर चाङ्गुनारायण वर्ष २४ का विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका-४ हिरापानी घर भई हालः ललितपुर पाटन बस्ने वर्ष ३० का विकास पुर्कुटी रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उक्त गेष्ट हाउसमा दुर्लभ वन्यजन्तुको छाला अवैध ओसारपसार भइरहेको छ भन्ने गाेप्य सूचना प्रहरीले पाएको थियो।

प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको टोलीले चेकजाँचका क्रममा ती साम्रागी बरामद गरेको हो। उनीहरु बसेको कोठा खानतलासी गर्दा खरानी र कलेजी रंगको झोलाभित्र दुई वटा चितुवाको छाला फेला परेको हो। त्यस्तै रुमालमा बेरेको अवस्थामा चितुवाको टाउको जस्तो देखिने खप्पर पनि बरामद भएको प्रहरीले जनाएको छ।

उनीहरुलाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय हात्तीसारमा पठाइएको प्रवक्ता मैनालीले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.