चालू आर्थिक वर्षको लक्ष्य भेट्टाउन अझै डेढ खर्ब राजस्व असुली बाँकी

रिपोर्ट नेपाल | 2020 Jun 24 | 08:02 am 35

काठमाडौं, असार १०ः चालू आर्थिक वर्ष सकिनै लाग्दा राजस्व असुलीमा पनि तीव्रता आएको छ । उद्योगी व्यवसायीले धमाधम कर तिर्न थालेपछि राजस्व असुलीमा तीव्रता आएको हो ।

सरकारले दैनिक खर्च धान्न समस्या परेको भन्दै उद्योगी व्यवसायीलाई कर भुक्तानी गर्न ताकेता गर्दैगर्दा सर्वोच्च अदालतको आदेशले केही समय राहत पाएका व्यवसायीहरूले भने धमाधम कर भुक्तानी गर्न थालेका छन् ।

आर्थिक वर्ष सकिन तीन सातामात्रै बाँकी रहँदा विभागलाई चालू आर्थिक वर्षभरीको लक्ष्य भेट्टाउन भने अझै डेढ खर्ब रुपियाँको हाराहारीमा राजस्व असुली गर्नुपर्ने हुन्छ ।

असार पहिलो सातासम्म आन्तरिक राजस्व विभागले २० अर्ब रुपियाँभन्दा बढी राजस्व असुली गरेको विभाग स्रोतले जनाएको छ । विभागका अनुसारमा सो अवधिमा आयकरतर्फ ११ अर्ब २३ करोड र मूल्य अभिवृद्धि करतर्फ ७ अर्ब १५ करोड रुपियाँ असुली भएको छ ।

त्यस्तै अन्तःशुल्क २ अर्ब १६ करोड रुपियाँ राजस्व असुली गरिसकेको छ । विभागले असार महिनाभित्र ८२ अर्ब रुपियाँ राजस्व असुली गर्ने लक्ष्य लिएको छ ।

यस अर्थमा असार पहिलो सातामा नै विभाग २५ प्रतिशतभन्दा बढी राजस्व असुली गर्न सफल भएको छ । आन्तरिक राजस्व विभागले बन्दाबन्दीपछि झण्डै ६२ अर्ब रुपियाँ राजस्व असुली गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा आन्तरिक राजस्व विभागलाई ४ खर्ब ८६ अर्ब रुपियाँ राजस्व असुल गर्ने लक्ष्य दिएको थियो । हालसम्म करिब सवा ३ अर्ब रुपियाँ राजस्व असुली भएको विभागले जनाएको छ ।

बन्दाबन्दीका कारण चैत महिनामा राजस्व संकलन रोकिएपछि सरकारले जेठ अन्तिम साता र असार पहिलो साता भन्दै कर तिर्न ताकेता गर्दै आएको थियो । तर, सर्वोच्च अदालतले सरकारले तोकेको समय सीमा खारेज गर्दै असार ३० गतेसम्म पुर्याइदिएको छ । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.