चामल माग्न चार दिनको बाटो

| 2021 Nov 23 | 08:08 am 153

हुम्ला, मङ्सिर ७ः चीनको ताक्लाकोटबाट दुई वर्षदेखि खाद्यान्न तथा अन्य उपभोग्य वस्तु आयात बन्द भएपछि हिमालपारि लिमी गाउँका बासिन्दाले खाद्यान्न सङ्कट बेहोर्दै आएका छन् । गाउँमा खाद्य सङ्कट परेपछि नाम्खा गाउँपालिका–६, लिमीको जाङ गाउँका १७ जनाको समूूह पाँच हजार मिटर अग्लो न्यालु लेक नाघेर खाद्यान्न माग गर्न सदरमुकाम सिमकोट आइपुगेको छ । नाराको लेकमा तीन फिटसम्म जमेको हिउँ छिचोल्दै, हिउँमाथि नै बास बस्दै चार दिनको कठिन बाटो हिँडेर सो समूह सिमकोट आइपुगेको हो । जाङका नुर्ब तामाङले भने, “कोरोनाको कारण देखाउँदै दुई वर्षदेखि छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोटबाट खाद्यवस्तु आयात बन्द छ । हामी भोकले मर्ने भयौँ । सरकार गुहार्न सिमकोट आएका हौँ ।”

एक वर्षदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्यान्नसमेत पुग्न सकेको छैन । स्थानीय उत्पादनसमेत कम भएपछि लिमीवासीले चरम खाद्य सङ्कट बेहोरिरहेका छन् । व्यापार कम्पनीले ढुवानी गर्ने खाद्यान्न लिमीमा विरलै पुग्ने गथ्र्यो । लिमीका तीनगाउँ तिल, हल्जी र जाङका बासिन्दाका लागि छदेखि आठ महिना पुग्ने खाद्यान्न यसअघि ताक्लाकोटबाट व्यवस्था हुने गर्थ्याे । यसले गर्दा व्यापार कम्पनीको खाद्यान्नमा स्थानीयवासीको ध्यान जाँदैनथ्यो । ताक्लाकोटबाट आयात हुने खाद्यान्न बन्द भएपछि स्थानीयवासी यतिबेला खाद्यान्न अभावले छटपटिएका छन् । गत वर्ष कात्तिकमा चार सय क्विन्टल खाद्यान्न कम्पनीको सिमकोट शाखाबाट लगिएको थियो । त्यसको ढुवानी गाउँपालिकाले दिएको थियो । स्थानीय तामाङका अनुसार त्यसयता खाद्यान्न नपुगेका कारण गाउँमा खाद्य सङ्कट भएको हो ।

लिमी हल्जी गाउँका तुन्डुवा तामाङले भने, “के खाएर बाँच्ने ? ज्यान बचाउनै समस्या भएपछि गुहार माग्न आएका हौँ ।” ताक्लाकोटबाट दुई वर्षअघि नै खरिद गरी ल्याएको मौज्दात खाद्यान्नले यतिन्जेल गाउँलेलाई धानेको थियो । लिमीका वडाध्यक्ष पाल्जोर तामाङले भने, “खाद्य समस्या समयमै समाधान नगरिए गाउँ भोकमरीमा फस्छ ।” खाद्य सङ्कट बेहोरिरहेका लिमीवासीले स्थानीय प्रशासन, कम्पनीको कार्यालय, जनप्रतिनिधि र राजनीति दलका नेतासँग भेटेर खाद्य समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन् । यसअघि भदौमा समेत स्थानीयवासीले खाद्यान्न सङ्कटबारे सरोकार पक्षको ध्यानाकर्षण गराएका थिए । लिमीमा १४७ घरधुरी छन् ।

लिमीवासीको खाद्यान्न सङ्कटका विषयमा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्लाबाट केही गर्न नसकिने बताए । हिमपातले बाटोसमेत राम्रो नखुलेका कारण हेलिकप्टरबाट खाद्यान्न लैजानुपर्ने बताउँदै उनले हिमपातका कारण जिल्लाभरि समयमा खाद्यान्न ढुवानी हुन नसकेकाले अन्यत्र पनि खाद्यान्न सङ्कट आउनसक्ने बताए ।

कम्पनीका हुम्ला शाखा प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा न्यून खाद्यान्न भएका कारण जिल्लाबाट कुनै व्यवस्था गर्न नसकिने बताए । यसै आर्थिक वर्षबाट लिमीका लागि बिक्री केन्द्रको स्वीकृत भएर पाँच सय क्विन्टल खाद्यान्न कोटाको व्यवस्था भए पनि त्योसमेत ढुवानी हुन सकेको प्रमुख अधिकारीले बताए । गाेरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.