गौतमको जबर्जस्त प्रवेश

| 2020 Sep 18 | 09:13 am 58

काठमाडौं, असाेज २: बिहीबार राष्ट्रियसभा सांसदको शपथ लिँदै गर्दा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई ठूलै युद्ध जितेको अनुभूति भइरहेको थियो। अनुहारको चमक र हाउभाउले उनले ३२ महिनाअघि बर्दियाबाट प्रतिनिधिसभा निर्वाचनमा पराजित हुनुको पीडा बिर्सेको अनुभूति हुन्थ्यो। नहोस् पनि किन, राष्ट्रियसभाको सांसद बन्न गौतमले पार्टीभित्र कम्ती पापड पेल्नु परेन।

कार्यकारी अध्यक्ष, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधव नेपाल, झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले गौतमका लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग ठूलै युद्ध लड्नु परेको थियो। गौतमलाई राष्ट्रियसभामा पठाउने वा नपठाउने भन्ने विवादले पार्टी नै झन्डै विभाजनको संघारमा पुगेको थियो। गौतमलाई राष्ट्रियसभामा पठाउन प्रधानमन्त्री ओली सहमत भएसँगै नेकपाको आन्तरिक विवाद पनि एक ढंगले किनारा लाग्यो।

दाखाकाडी— १ प्यूठानका स्थायी बासिन्दा गौतमलाई सरकारको सिफारिसमा मनोनीत हुने तीन जनाको कोटामा सांसद बनाइएको हो।

पूर्वअर्थमन्त्री डा युवराज खतिवडाको कार्यकाल ६ महिनाअघि नै समाप्त भएपछि वामदेव कि खतिवडालाई ल्याउने भन्ने नेकपाभित्रको विवादमा ६ महिना सांसद पद रिक्त भएको थियो। खतिवडालाई पुनः राष्ट्रियसभामा ल्याउने निर्णय गर्न नसके पनि प्रधानमन्त्री ओलीले उनलाई ६ महिना मन्त्री बनाएका थिए।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले बिहीबार संसद् सचिवालयमा वामदेवलाई शपथ गराउँदै गर्दा अर्को रोचक दृश्य देखा पर्‍यो। गौतमलाई राष्ट्रियसभामा ल्याउनुपर्ने भन्दै प्रधानमन्त्री ओलीसँग लडाइँ लडेका अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय नेपाल र खनाल तथा प्रवक्ता श्रेष्ठ वामदेवको शपथमा सहभागी भएका थिए। दायाँबायाँ पार्टीका शीर्ष नेता राखेर गौतमले सांसद पदको शपथ लिएका थिए। अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.