गृह मन्त्रालयले ललिता निवास जग्गा प्रकरणका १ सय ७२ जनाविरुद्ध किर्ते र ठगीको मुद्दा चलाउन सीआईबीमा जाहेरी

रिपोर्ट नेपाल | 2020 Feb 14 | 02:56 pm 99

काठमाडौं, फागुन २: ललिता निवास जग्गा अवैध रुपमा आफ्नो नाम गराएको प्रकरणमा गृह मन्त्रालयले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १ सय ७२ जनाविरुद्ध किर्ते र ठगीको मुद्दा चलाउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा जाहेरी दिएको छ ।

यसअघि माघ २७ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख निरज शाहीले फौजदारी न्याय प्रणालीअनुसार ठगी र किर्ते मुद्दामा पीडित पक्षबाट उजुरी आवश्यक पर्ने भएकाले जाहेरीको अभाव भएको बताएका थिए ।

जग्गा खरिदबिक्रीमा संलग्नहरूमध्ये गलत निर्णय गर्ने पदाधिकारी, नक्कली मोही, दलाल र खरिदकर्तासहित विभिन्न ‘वर्ग’मा विभाजन गरी कतिपयलाई प्रहरी हिरासतमा राखेर ठगी र किर्तेमा अनुसन्धान गर्नुपर्ने र त्यसका लागि ठगी र कीर्ते मुद्दा चलाउन गृह मन्त्रालयले लिखित उजुरी वा निर्देशन दिनुपर्ने ब्युरोले जनाएको थियो ।

सीआईबीले १ सय ३६ रोपनी सरकारी जग्गा खरिदबिक्रीमा सहयोग पुग्ने गरी निर्णय गर्ने तत्कालीन सरकारका उच्च पदाधिकारी, सरकारी कर्मचारी, नक्कली मोही, दलाल, बिक्रीकर्ता र खरिदकर्ता गरी १ सय ७२ जनाविरुद्ध कारबाहीको सिफारिस गरिसकेको छ ।

गृह मन्त्रालय मातहतको समरजंग कम्पनीले जग्गा हडप्नेविरुद्ध मुलुकी ऐन, २०२० र मुलुकी अपराध (संहिता)ऐन, २०७४ अनुसार ठगी र किर्तेको अभियोगमा मुद्दा चलाउन निवेदन दिएसँगै सीआईबीको छानबिनमा कसुरदार देखाइएका पूर्वमन्त्री, पूर्वसचिव, अन्य कर्मचारी, भूमाफियालगायतलाई पक्राउ गरेर अनुसन्धान थाल्न बाटो खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.