गुल्मीमा विभिन्न १६ सवारीसाधन प्रहरी नियन्त्रणमा 

रिपोर्ट नेपाल | 2020 Oct 12 | 08:39 pm 64

सन्तोष महतारा गुल्मी, असोज २६ः जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको सहयोगमा सवारी नियन्त्रणमा लिएको छ ।

जिल्लामा संचालित सवारीसाधनले  महङ्गो भाडा असुल्ने, सवारी अनुमति  पत्र नभईकन सवारी चलाउने  र कोरोनाबाट बच्न  सुरक्षा मापदण्ड नअपनाईकन यात्रु बोक्ने सवारीलाई नियन्त्रणमा लिइएको हो ।

सोमबार मात्रै जिल्ला प्रहरी कार्यालय गुल्मीले  जीप ६ वटा, मोटरसाइकल ७ वटा,  स्कुटर २ वटा, ट्याक्टर २ वटा र  अटो १ वटा  गरी १६ सवारी प्रहरीको नियन्त्रणमा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सवारीसाधनले यात्रु बढी राख्ने तथा  भाडा महङ्गो लिने गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयसहितको सक्रियतामा जिल्ला प्रहरी कार्यालय गुल्मीले सवारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका  सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तले जानकारी दिए ।

कुनै सवारीसाधनले दोब्बर भाडा लिएर  दोब्बर नै यात्रु राखेका थिए । कोरोनाबाट बच्नको लागि कुनै पनि सुरक्षाका मापदण्ड नअपनाइकन यात्रा गराइरहेकोले पनि सवारीसाधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा पर्ने सवारीसाधन कुनै निजी रहेका छन् । भने कुनै सार्वजनिक रहेका छन् ।

नियमविपरीत चल्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले मात्रै १ हजार ५ सय  जरिवाना तिराउन पाउँछन् । जरिवानाले मात्रै समस्याको समाधान नभएको भन्दै जिल्ला प्रहरी कार्यालयसहितको सहयोगमा गाडी नै नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी सहायक निरीक्षक जगन्नाथ पाण्डेले जानकारी दिए ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई २ दिनसम्म नियन्त्रणमा नै राख्ने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । यसअघि यात्रुहरूले  तेब्बर भाडा तिरेको गुनासो गरेका थिए । गुनासोपश्चात् जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीले थप सक्रियता देखाएको हो ।

आज नियन्त्रणमा लिएको मोटरसाईकल र स्कुटर सवारीचालकलाई प्रशिक्षण दिनुका साथै उनीहरुलाई सवारी अनुमति पत्र भएको व्याक्तिलाई जिम्मा लगाएर पठाइएको छ । यसअघि प्रहरीले जिप, बस र ट्याक्टर मात्रै  नियन्त्रणमा लिएको थियो । आज भने मोटरसाईकल र स्कुटर पनि नियन्त्रणमा लिएर छोडिएको छ ।

यसरी सवारी भाडा दोब्बर नै अथवा जिल्ला प्रशासन कार्यालयले तोकेको भन्दा बढी लिए यातायात व्यवस्था कार्यालय बुटवलमार्फत कार्वाही गरिने जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक केदार राज पन्तको भनाई छ ।

सवारीसाधन नै नियन्त्रणमा लिएर २ दिनसम्म राखी कार्वाही गर्दा भाडादर घट्ने विश्वासमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तेब्बर भाडा तिर्नु पर्ने यात्रुको  गुनासोपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले जिल्ला प्रहरी कार्यालयसहितको सहयोगमा अनुगमनलाई निरन्तरता दिएको छ ।

यसअघि जिल्ला प्रहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले २ दर्जन भन्दा बढी सवारी नियन्त्रणमा लिएको थियो ।

दशैं र तिहार जस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा भिडभाड बढ्ने, कोरोनाको जोखिम बढ्ने र चाडपर्वमा असुरक्षित यात्रा हुनाले ट्राफिक प्रहरीको सहयोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समय सवारीसाधन चेकजाँचमा थप कडाइ गरेको छ ।

यसरी दुर्घटना न्युनिकरण, कोरोनाको जोखिम कम  र सुरक्षित यात्रा हुने अपेक्षा लिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.