सन्तोष महतारा
गुल्मी, २५ चैत : गुल्मीमा टाइफाइड रोग बिरुद्धको खोप शुभारम्भ गरिएको छ । जिल्लाको सदरमुकाम तम्घास रहेको अर्जुन आवसीय माध्यमिक विद्यालयबाट टाइफाइड बिरुद्धको खोप लगाउन सुरु गरिएको हो ।
देशभर अभियानका रुपमा संचालन गरिएको टाइफइड बिरुद्धको खोप अभियान अन्तर्गत गुल्मीमा पनि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि टाइफाइड बिरुद्धको खोप दिन सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका निमित्त प्रमुख पशुपति आचार्यले जानकारी दिए । गुल्मीमा ६८ हजार ६ सयलाई खोप दिइने छ ।
खोप शुभारम्भ गर्दै जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले खोपलाई प्रभावकारी बनाएर लक्षित समूहसम्म अनिवार्य रुपमा पुराउन स्वास्थ्य कार्यालयलाई निर्देशन दिए । कसैलाई नछुटाउन आग्रह गर्दै समन्वय प्रमुख पराजुलीले सबै संयन्त्र परिचालन गरेर लाभग्राही तथा लक्षित समूहलाई अनिवार्य रुपमा खोप लगाउनुपर्ने बताए ।
टाइफाइड एकप्रकारको ज्यान जोखिम पार्ने संक्रामक रोग हो । यो १ लाख जनसंख्यामा १ सय भन्दा बढीमा भेटिएमा बढी जोखिम मानिन्छ । विश्वमा हरेक वर्ष २ करोडमा टाइफाइडको संक्रमण र १ लाख ६१ हजार टाइफाइडमा कारण मरेका छन् ।
नेपालमा अहिले १ लाखमा १ हजार ६२ र १५ वर्ष मुनिका १ लाख बालबालिकामा १० हजार ९ सय ६० जनामा टाइफाइडको संक्रमण भेटिएकोले लक्षित समूहकोरुपमा बालबालिकालाई राखेर खोप लगाउन थालिएको हो । १ जना स्वास्थ्यकर्मी, १ जना महिला स्वास्थ्य स्वंमसेविका र १ जना विद्यालयकी शिक्षिकालाई खोप केन्द्रमा खटाएर खोप दिइने छ ।
खोपको ९६ दशमलव ९५ प्रतिशत प्रभाव रहेको अध्ययनले देखाएको छ । स्थानीय तहका स्वास्थ्य संयोजकमार्फत स्वास्थ्यचौकीका इञ्चार्जहरुले आफ्नो वडामा लाभग्राहीलाई अनिवार्य खोप लगाउन स्वास्थ्य कार्यालय गुल्मीले निर्देशन गरेको छ ।