गुल्मीमा उपनिर्वाचन सम्पन्न: ७५.३९ प्रतिशत मत खपत

रिपोर्ट नेपाल | 2019 Nov 30 | 05:57 pm 72

गुल्मी, मंसिर १४: शनिबार भएको उपनिर्वाचनमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका वडा ६ रिमुवामा वडाध्यक्ष पदको लागि ७५.३९ प्रतिशत अर्थात् एक हजार ५ सय ४४ मत खसेको छ ।

कुल मतदाता संख्या २ हजार ४८ रहेको रिमुवामा ७५.३९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृत राजेन्द्र पोखरेलले जानकारी दिए । कुल मतदाता मध्ये ८ सय ७६ महिला र ६ सय ६८ पुरुषले मतदान गरेका थिए ।

बिहान ७ बजेदेखि सुरू भएको मतदान कार्य साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । निर्वाचनको लागि १ मतदान केन्द्र र २ स्थल तोकिएको थियो । गाउँपालिकाको वडा ६ रिमुवामा रहेको जनज्योती माध्यमिक विद्यालयमा मतदान केन्द्र रहेको थियो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको कडा सुरक्षाका बीच सौहार्दपुर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको छ । उक्त निर्वाचनमा वडाध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट गिरिप्रसाद सिञ्जाली, नेपाली काँग्रेसबाट वेद बहादुर दर्लामी र स्वतन्त्र उम्मेदवार मनबहादुर पचभैयाले उम्मेदवारी दिएका हुन् । जसमध्ये नेपाल कम्युनिस्ट पाटी (नेकपा) र नेपाली काँग्रेसका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेबाट विजयी भएका पूर्ण बहादुर रेगामीको निधन भएपछि रिमुवामा उप–निर्वाचन भएको हो ।

मतदान पश्चात मतपेटीका मुख्य निर्वाचन अधिकृतको कार्यालय रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा संकल गरेर शनिबार बेलुकीबाटै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.