गाउँमा झगडा मिलाएर फर्केका एक प्रहरी इञ्चार्जको अचानक बाटैमा मृत्यु

| 2020 May 21 | 12:57 pm 54

ताप्लेजुङ, जेठ ८ः गाउँमा भएको झगडा मिलाएर कार्यालयतर्फ फर्कने क्रममा एक प्रहरी चौकीका इञ्चार्जको अचानक बाटैमा मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–७ स्थित खेवाङमा कार्यरत प्रहरी सहायक निरीक्षक बालकुमार राई रहेका छन् ।

सिदिङ्वा गाउँपालिकास्थित सुरुम्खिममा भएको झगडा मिलाएर फर्कने क्रममा बाटैमा बिरामी परेका राईको गए राति निधन भएको हो ।

बुधबार दिउँसो झगडा मिलाएर फर्कने क्रममा बीच बाटामा नै अचानक बान्ता भएको र हिँड्न नसक्ने अवस्था भएकाले बाटैमा पर्ने खेवाङस्थित कुमार सार्कीको घरमा रहेका राईको राति निधन भएको वडाध्यक्ष नरेन्द्र तिवारीले जानकारी दिए ।

राईसँग प्रहरीचौकीमा कार्यरत हवल्दार र एक जवानसमेत साथमा थिए ।

खेवाङ प्रहरी चौकीमा करिब दुई हप्ताअघि मात्रै इञ्चार्जको जिम्मेवारी सम्हालेका राईको घर भोजपुर रहेको र हाल दमकमा बसोबास रहेको बुझिएको अध्यक्ष तिवारीले बताए ।

सदरमुकामबाट ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरीको टोली घटनास्थलतर्फ गएको बताइको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.