गर्मीसँगै बढे झाडापखालाका बिरामी

| 2019 May 14 | 04:13 pm 42

कञ्चनपुर, वैशाखा ३१: गर्मी बढेसँगै विभिन्न किसिमका रोगहरु पनि फैलिएका छन् । कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा बिरामीको चाप अत्यधिक मात्राले बढेको छ । यस अस्पतालमा अधिकांश बिरामी झाडापखाला, बान्ता आउने, टाउँको दुख्ने, रुघा, खोकी, ज्वरोका साथै अस्वस्थ्य खानपानले बिरामी परेका अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले वैशाखको पहिलो सातादेखि नै यहाँ बिरामीको चाप बढेको बताए । बिरामी मध्ये सबैभन्दा बढी झाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको भट्टले जनाए ।
भट्टका अनुसार वैशाख महिनामा मात्रै पखालाका १ सय ७५ बिरामीको त्यस अस्पतालमा उपचार भएको जानकारी दिए । यसरी बिरामी पर्नुको मुख्य कारण भनेको दूषित पानीको प्रयोगसँगै अस्वस्थ्यकर खाना प्रयोग गर्नाले झाडापखालाका बिरामी बढेको बताए ।

गत शनिबार राति मात्रै अस्पतालको आकास्मिक कक्षमा ५० भन्दा बढी बिरामी उपचारका लागि राति भर्ना भएको स्वास्थ्यकर्मीको भनाइ छ । लामो समयदेखि विशेषज्ञ चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा कर्मचारी समायोजनले जनशक्तिमा झन अभाव रहेको भट्टको भनाइ छ ।अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र इकाइमार्फत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला स्वास्थ्य स्व्यमसेविका, शहीद परिवार लगायतलाई निःशुल्क औषधि झण्डै एक महीनादेखि अभाव छ ।

अस्पताल प्रशासनले सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसंग औषधिका लागि माग फारम भरेको भए पनि अझै उपलब्ध भइसकेको छैन । औषधि पाउन छाडेपछि दैनिक २० देखि ३० बिरामी मारमा पर्ने गरेका छन् । भीमदत्तनगरस्थित एसआर मेडिकलका सञ्चालक शिवराज भट्टले बिरामीको चाप निजी क्लिनिकमा पनि बढेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.