गरिबलाई छैन चुनावको चासो

| 2022 May 08 | 10:29 am 213

काठमाडौं, बैशाख २५ः स्थानीय तहको निर्वाचन नजिकिएसँगै गाउँशहर सबैतिर चुनावी चर्चा छ। दलका नेता कार्यकर्ताहरू चुनावी प्रचार अभियानमा छन्। बैतडीमा पनि यसको रौनक निकै बढेको छ। गाउँगाउँ, घरघरमा उम्मेदवारहरू भोट माग्न व्यस्त छन्।

त्यति मात्रै होइन, मतदाता आकर्षित गर्न महत्वकांक्षी घोषणापत्र पनि सार्वजनिक गरिरहेका छन्। ती घोषणापत्रमा गरिब, दुःखी र मजदुरका कुरा भने समेटिएको छैनन्। यस्तै घोषणापत्र समातेर नेता कार्यकर्ताहरू गाउँगाउँमा, घरघरमा मत माग्न हिँडिरहेका छन्। उनीहरूलाई ठूलै चाड लागेको छ तर दैनिक मजदुरी गरी खाने वर्गलाई भने चुनावी रौनकले छुनै सकेको छैन।

बिहान बेलुकाको हातमुख जोड्न र परिवार चलाउनका लागि मजदुरी गरिरहेका उनीहरूलाई न चुनावको रौनक छ न कुनै रमझमको। उनीहरूलाई चासो छ त केवल बिहानबेलुकाको छाक कसरी टार्ने र बालबच्चा कसरी पाल्ने? घरमा भोट माग्न उम्मेदवारहरु पुगिरहँदा झर्को मानिरहेका छन्।

नेताहरु भोट माग्न मात्र आउने र चुनावपछि फर्केर गाउँ नआउने हुँदा चुनाव किन आउँछ जस्तो लाग्ने गरेको स्थानीय बताउँछन्। जितेर गएकाहरुले गाउँको लागि कामै नगर्ने भएकोले चुनावको रौनकले नछोएको दशरथचन्द नगरपालिका–५ कि सुना भुलले बताइन्।

दैनिक ज्यालादारी र गिट्टी कुटेर गुजारा गर्ने दशरथचन्द नगरपालिका–४ कि हिरा भूललाई चुनावको कुनै मतलव छैन। जुन नेताले जिते पनि गरिबको पीडा बुझ्न नसेको उनको गुनासो छ। ‘भोट माग्न सबै आएका छन्। हाम्रा समस्या समाधान गर्नको लागी कोही पुग्दैनन्,’ उनले भनिन्।

पाँच वर्षअघि जितेर जानेहरुले गर्छु भनेकै कुरा अहिलेका उम्मेदवारहरुले गर्ने गरेका डिलासैनी गाउँपालिका–६ का दानसिंह मालले बताए। गरेका प्रतिबद्धताहरु पूरा नगर्ने भएकोले अहिले चुनाव आएपनि मौन भएरै बस्नुपर्ने अवस्था आएको उनको भनाइ छ। चुनाव आउन थोरै दिन बाँकी हुँदासमेत सर्वसाधारणमा उत्साह छैन।

अघिल्लो निर्वाचनमा जनप्रतिनिधिहरुले गरेको अधिकांश बाचा पूरा नगरेका कारण पनि मतदातामा उत्साह नदेखिएको हो। निर्वाचित जनप्रतिनिधिहरुले विकासको सपना बाँडेर कामै नगरेकाले यसपालि चुनावमा लाग्नै मन छाडेको नारायण नगरपालिकाका स्थानीय देवेन्द्र बस्नेतले बताए। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा देखिएको उत्साह भने यसपालि देखिएको छैन।

जसका कारण जनप्रतिनिधिले बनाएको आफ्नो विकास एजेण्डा (घोषणा पत्र) जनताले विश्वास नै गर्न छाडेका छन्। विगतमा निर्वाचित प्रायः जनप्रतिनिधिहरुले आफन्त र आसेपासेहरु मोटाउने खालको कामहरु गरेका जनताहरु निराश छन्। विगतमा आफ्ना उम्मेदवार जिताउन लाग्ने कार्यकर्ताहरु समेत यसपालि खासै जाँगर चलाएका छैनन्।

जुनसकुै सरकार आए पनि निमुखालाई नहेर्ने गरेको पुर्चौडी नगरपालिका–१ का जयन्ती रैकालले बताइन्। ‘अहिलेसम्म धेरै पटक भोट हाले, भोट माग्न आउँदा नेताहरूले धेरै आशा देखाए तर हामी जस्तो दुःखी गरिबका लागि केही गर्न सकेनन’, उनले भनिन्, ‘अब त भोट पनि नहाल्ने, हाम्रो भोटले उनीहरू ठूलोठूलो ठाउँमा पुग्ने, हामी जहाँको त्यही। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.