गत वर्षको तुलनामा तरकारीको मुल्य यस वर्ष एक सय ४३ प्रतिशत वृद्धि

| 2019 May 10 | 07:02 am 80

काठमाडौं, वैशाख २७: सरकारले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण भएको दाबी गरिरहँदा बजारमा अधिकांश तरकारीको भाउ पोहोरभन्दा दोब्बर महँगो भएको छ। तरकारीको मूल्य अचाक्लि वृद्धि हुँदा भान्छा चलाउन हम्मे परेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्षको तुलनामा तरकारीको भाउ एक सय ४३ प्रतिशतसम्म बढेको छ। गत वर्षमात्र नभएर गत महिना (चैत) सँग तुलनामा गर्दा पनि भाउ अत्याधिक वृद्धि भएको हो।

निरन्तर वर्षात्ले तरकारी नष्ट हुँदा उत्पादनमा ह्रास, अफ सिजन, मागको आधारमा तरकारी उत्पादन नहुनु लगायतका कारणले तरकारीको भाउ बढेको व्यापारी बताउँछन्।

भान्छामा दैनिक रुपमा प्रयोग हुने गोलभेंडाको मूल्य किलो मै ५० रुपैयाँ बढेको छ। गत वर्ष वैशाख अन्तिम साता (२६ गते) ३५ रुपैयाँ किलो बिक्री भएको गोलभेंडा बिहीवार ८५ रुपैयाँ किलोमा बिक्री भएको छ। गोलभेंडा गत वर्षमात्र नभएर यो गत महिना भन्दा पनि किलोमा ४० रुपैयाँ बढेको हो।

बिहीबार कालीमाटीमा गोलभेंडा ४५ रुपैयाँ किलो बिक्री भएको छ। गोलभेंडामात्र नभएर काउली, बोडी, भिण्डी, सिमी, परवललगायत तरकारीको भाउ एक सय प्रतिशतभन्दा धेरै बढेको छ। स्थानीय काउलीको मूल्य एक सय ११ प्रतिशतले बढेको छ। गत वर्ष ४५ रुपैयाँ किलो बिक्री भएको काउली अहिले बढेर ९५ रुपैयाँ पुगेको छ।

कालीमाटी तरकारी बजारका अनुसार गत वर्षको तुलनामा बोडीको मूल्य ३५ रुपैयाँबाट ८५, सिमी ४५ बाट ९५, परवल, भिण्डी ४५ बाट ९५ रुपैयाँ किलो पुगेको छ। भन्टा ५५ बाट बढेर ७५ रुपैयाँ किलो, तितेकरेला ४५ बाट ८५, लौका ४५ बाट ७५, चिचिन्डो ५५ बाट ८५, घिरौंला ५५ बाट ८५ रुपैयाँ पुगेको छ। रायो साग किलोको ६५ बाट ९५, ब्रोकाउली ६५ बाट बढेर एक सय १५ रुपैयाँ पुगेको कालीमाटी तरकारी बजार समितिले जनाएको छ। सबै हरियो तरकारीको मूल्य बढे पनि आलु, प्याज, बन्दाको मूल्य भने यथावत छ। गाजरको मूल्य घटेको छ।

निरन्तर हावाहुरी सहित पानी पर्दा यो वर्ष हरियो तरकारी उत्पादन घटेकाले भाउ बढेको तरकारी व्यवसायी बताउँछन्। हिउँदमा पनि पानी परेकाले तरकारीमा क्षति पुगेर मूल्य बढेको तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले बताए। वर्षात्ले तरकारी नष्ट हुँदा त्यसको असर मूल्यमा पर्‍यो, घिमिरेले भने, ‘अफ सिजन भएकाले पनि भाउ बढेको छ।’ उत्पादन घटेपछि काठमाडौंमा तरकारीको आपूर्ति कम भएको छ।

तरकारीका पकेट क्षेत्रमा पनि उत्पादन घटेको छ। उपत्यकामा तरकारी आउने काभ्रे, धादिङ, मकवानपुरको दामन, काठमाडौं, ललितपुर, भक्तपुरका काँठ क्षेत्रमा तरकारी कम उत्पादन भएको छ। तराई र ग्रामीण क्षेत्रबाट आउने तरकारी कम आएको व्यवसायी बताउँछन्। अफ सिजन भएकाले भारताबाट आउने तरकारी पनि महँगो छ।

कालीमाटी तरकारी बजारका कार्यकारी निर्देशक तेजेन्द्र पौडेल यो सिजनमा उत्पादन हुने तरकारी सकिन लागेकाले पनि भाउ बढेको तर्क गर्छन्। ‘माग अनुसार उत्पादन भाउ बढ्नु स्वाभाविक हो,’ उनले भने। यहाँको उत्पादनले नपुगेर भारतबाट समेत तरकारी आयात भइरहेको पौडेल बताउँछन्। पौडेलका अनुसार कालीमाटीमा दैनिक साढे आठ सय टन तरकारी बिक्री हुन्छ।

उपत्यकाका मुख्य तरकारी बजार कालीमाटी, टुकुचा, बल्खु, कुलेश्वर, बानेश्वर, बालाजु, लगनखेल, बानेश्वरबाट तरकारी बिक्री हुन्छ। ती बजारमा व्यापारीले लगेपछि अन्य खुद्रा बजारमा पुग्दा तरकारी अझै महँगो पर्छ। विभिन्न तह पार गरेर उपभोक्तासम्म पुग्दा भाउ अकासिन्छ।

बेमौसममा तरकारी पनि कम उत्पादन भएकाले यही मौका छोपेर बिचौलियाले धेरै मुनाफा राख्ने गरेका छन्। तरकारी बिक्रेता भने आफ्नो खरिद नै महँगो पर्ने गरेको बताउँछन्। थोरै मार्जिन राख्दा पनि मूल्य धेरै भएको बनस्थलीमा तरकारी बेच्ने प्रमिला ठकुरीले बताइन्। ‘कालीमाटीबाट खरिद गर्दानै महँगो परेको छ,’ उनले भनिन्, ‘किलोमा दुई–चार रुपैयाँमात्र नाफा राखेर बिक्री गर्छौं।’ तरकारी किनेर ल्याउँदा बिग्रिने भएकोले पनि त्यसको भार उपभोक्तामा पर्छ।

बिचौलियाका कारण पनि उपभोक्ता ठगिएका छन्। किसानले उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा तिर्नुपर्ने बाध्यता छ। उपभोक्ता अधिकारकर्मी भने सरकारको बलियो उपस्थिती नहुँदा तरकारीको भाउ मनपरी ढंगले बढाउने गरेको बताउँछन्। उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले तरकारीको मूल्य निर्धारणमा मनपरी रहेको बताए। जति मूल्य लिए पनि कारबाही नहुँदा मनलाग्दी मूल्य बढाएका हुन्,’ उनले भने, ‘सरकारको फितलो अनुगमनले उपभोक्ता ठगिए। आजकाे नागरिक दैनिकमा प्रकाशित

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.