गठबन्धन भर्सेस एमाले

| 2022 Apr 21 | 07:51 am 169

काठमाडौं, बैशाख ८: सत्ता गठबन्धन र नेकपा एमालेबीच स्थानीय निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने भएको छ। सत्तागठबन्धनले मंगलबार महानगर र बुधबार उपमहानगरमा प्रमुख र उपप्रमुखको भागबन्डा मिलाएको छ। यसअघि ती स्थानमा गठबन्धनभित्रै तालमेलको सकस थियो।

सञ्चार तथा सूचनामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार नै महानगर र उपमहानगरको तालमेल टुंग्याउने प्रयास गरे पनि नेपालगन्ज, इटहरी र जनकपुरका विषयमा सहमति जुट्न नसक्दा बैठक बुधबारसम्म लम्बिएको बताए। तीनवटा महानगरको प्रमुखमा सहमति जनाएको कांग्रेसले धरान, इटहरी, बुटवल, कलैया, नेपालगन्ज, तुलसीपुर र धनगढी उपमहानगरको प्रमुखमा अब उम्मेदवारी दिनेछ। ६ महानगर र ११ उपमहानगरमध्ये कांग्रेस बाहेकका गठबन्धनका दलले ३ महानगर र ४ उपमहानगरको प्रमुख पदमा उम्मेदवारी दिन पाउने सहमति भएको छ।

जनकपुर, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको उपप्रमुख पद कांग्रेसले राख्दै अन्यमा गठबन्धनका उम्मेदवार उठाउने छ। यस्तै जितपुर सिमरा र घोराहीको प्रमुखमा उम्मेदवारी दिन पाउने माओवादी केन्द्रले धरान र धनगढीको उपप्रमुख पाएको छ। एकीकृत समाजवादीले हेटौंडाको प्रमुख पाउने गठबन्धन दलमा समझदारी भएको छ। एकीकृतले उपप्रमुख पदका लागि इटहरी, बुटवल र तुलसीपुर पाएको छ। जसपाले जनकपुरधाममा प्रमुख पाएको छ भने कलैया र नेपालगन्जको उपप्रमुख सिट पाएको छ। सबै महानगर र उपमहानगरमा प्रमुख नपाए पनि धेरै स्थानमा उपप्रमुख पद पाएको मन्त्री कार्कीले बताए।

२०७४ को स्थानीय चुनावमा ललितपुर र विराटनगरमा कांग्रेसले प्रमुख र उपप्रमुख नै जितेको थियो। काठमाडौं, भरतपुर र वीरगन्जमा उपप्रमुख जितेको थियो। उपमहानगरमध्ये धनगढी र कलैयामा दुवै पद जितेको कांग्रेसले नेपालगन्जमा उपप्रमुखमा चित्त बुझाएको थियो। धरानमा भने उपनिर्वाचन हुँदा प्रमुख पद हात पारेको थियो। भरतपुरमा कांग्रेको समर्थनमा माओवादीले जित हात पार्दा वीरगन्जमा तत्कालीन संघीय समाजवादी फोरमले प्रमुख पदमा विजयी भएको थियो। उपमहानगरमा एमालेले घोराही, तुलसीपुर, बुटवल, हेटौंडा, जितपुर सिमरा, इटहरी र धरानमा जितेको थियो। यस्तै सो समय नेपालगन्ज राप्रपा र जनकपुरमा राजपाले प्रमुख पद जितेका थिए।

अबको निर्वाचनमा भने एमालेसँग प्रतिस्पर्धा गर्न गठबन्धनले मजबुत तयारी गरेको सत्तापक्ष दलका नेता बताउँछन्। अधिकांश महानगर र उपमहानगरको चुनावी प्रतिस्पर्धामा कांग्रेस र एमालेको भेट हुँदा केही प्रमुख र उपप्रमुखमा एमालेले अन्य दलका उम्मेदवारसँग भिड्ने गठबन्धनको सहमतिले देखाएको छ।

गठबन्धनको सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसले एमालेसँग प्रतिस्पर्धा गर्नेछ। भरतपुरमा माओवादी केन्द्र, पोखरामा नेकपा एकीकृत समाजवादी र वीरगन्जमा जनता समाजवादी पार्टी (जसपा) सँग एमाले भिड्ने छ। उपप्रमुखमा वीरगन्ज, भरतपुर र पोखरा महनगर कांग्रेसको भागमा छ। अन्य स्थानमा काठमाडौं नेकपा एस, ललितपुरको उपप्रमुख माओवादी केन्द्र र विराटनगर जसपाले पाएको छ।

उपमहानगरमा धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगन्ज र धनगढीको प्रमुखमा गठबन्धनको कांग्रेसले एमालेसँग भिड्ने तयारी गरेको छ।  नेकपा एमालेले धमाधम उम्मेदवारको नाम सिफारिस गरिरहँदा गठबन्धनले भने बुधबार मात्रै महानगर र उपमहानगरको भागबन्डा टुंग्याएको हो। ललितपुर, चितवन र वीरगन्जमा एमालेले सर्वसम्मत उम्मेदवार चयन गरेको छ। अन्य महानगरले एकभन्दा बढीको नामसहित केन्द्रमा पठाएको छ। गठबन्धनको पनि भागबन्डा मिलेकाले अब महानगर र उपमहानगरमा उम्मेदवार छनोटको प्रक्रिया सुरु गर्ने जनाएको छ।  अन्नपूर्ण पाेस्ट दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.