खोई त राष्ट्र र सरकार प्रमुख मदन आश्रीतका हत्यारा ?

रिपोर्ट नेपाल | 2020 Sep 18 | 12:46 pm 464

  • बसन्त भुजेल

मदन भण्डारीको भाषण क्यासेटमा रेकर्ड गरेर बेचिन्थ्यो । मान्छेहरुले उनको भाषण किनेर सुन्न तँछाड मछाड गरेको मलाई थाहा छ । यस्ता प्रतिभाशाली नेतालाई मारिन्छ र यसको हत्यारा चिनेको छु भन्ने व्यक्ति पटक पटक प्रधानमन्त्रीको कुर्सीमा पुग्दा किन छानविन गर्दैनन् ? आफ्नै श्रीमानको हत्यारा पत्ता लगाउन जाँगर राष्ट्रपतिलाई किन चल्दैन ? भोटमाग्नका लागि मात्रै प्रयोग हुने सोलोगान र सस्तो लोकप्रियताका लागि मदन भण्डारी भजाउने कि जनतालाई सत्यतथ्य उजागर गर्ने ?

मैले पनि उनका केही भाषणहरु सुनेको छु । उनी सरल भाषामा उदाहरण दिएर आफ्ना तर्क प्रस्तुत गर्थे । उनले भनेका थिए, ‘यहाँले आफ्नो घरमा हात्ती पाल्दाखेरि धेरै घाँस, धेरै भुस, धेरै उसलाई फिडिङ चाहिन्छ । तर एउटा बोको पाल्नुभयो भने त्यो बोकोलाई थोरै घाँसले पुग्ने थियो । यसअर्थमा एउटा निर्वाचित राष्ट्रपति हुने हो भने उसले १५–२० हजारमा त्यस्तै प्रधानमन्त्रीको बराबरी तलबमा काम चल्थ्यो होला । तर यो अभिसामन्ती अभिजात्य शैलीमा बाँचेको दरबारलाई अहिले त्यति खर्चले पुग्नेवाला छैन ।’ कुरा ठीकै पो हो कि, जस्तो लागेको थियो । आज राजाको ठाउँमा उनकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति भएको पाँच वर्ष वितिसकेकको छ । तर राष्ट्रपति भण्डारीको जीवन शैली, खर्च र तडक भडक राजाको भन्दा कम छ त ? कत्ति पनि कम छैन, बरु बढी छ । राष्ट्रपति भण्डारी सेवा सुविधा र कार्यशैलीका कारण विवादमा तानिने गरेकी छन् । शितलनिवास बाहिर आवतजावत गर्दा सडक र अन्तर्राष्ट्रिय भ्रमणमा जाँदा विमानस्थल नै ठप्प हुने प्रवृत्तिले सर्वसाधारणदेखि स्वदेशी र विदेशी नागरिक आजित छन् । हिजो राजाको कार्यशैलीविरुद्ध आवाज उठाएका स्व.मदन भण्डारी पत्नी विद्या भण्डारीले राजाको कार्यशैलीलाई माथ गरिसकेकी छिन् । राजाले चढ्ने भन्दा महंगा गाडी चढ्छिन्, राजाले चढ्ने भन्दा विलासी हेलिकोप्टर चढ्छिन् । राष्ट्रपति भण्डारीका गलत क्रियाकलाप विरुद्ध सािहत्यकारहरुले समेत लेख्न नसक्ने अवस्था बनेको छ, । राष्ट्रपतिको मानहानी भयो भन्दै कतिपय कलाकारका गीतहमाथि प्रतिवन्ध लगाइएको छ ।

मदन पत्नी विद्यादेवी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति हुन् । र गणतन्त्र नेपालको दोस्रो नागरिक राष्ट्राध्यक्ष हुन् । केही अपवादलाई छोड्ने हो भने २०४६ पछि बनेका सबैजसो सरकारमा एमाले निरन्तर सहभागी छ । यतिबेला त मदन भण्डारीका कार्यकर्ता केपी शर्मा ओली करिव दुई तिहाई बहमुत सहित मुलुकको प्रधानमन्त्री छन् । मदन भण्डारीको हत्या यता ओली करिव दुई वर्ष मन्त्री, करिव दुई वर्ष उपप्रधानमन्त्री र करिव चार वर्ष प्रधानमन्त्री भइसके । ५ वर्ष भइसक्यो मदन पत्नी विद्या राष्ट्रपति भएको पनि । यस अघि पटक पटक मन्त्री भइसकेकी हुन् । तर एक दिन पनि विद्याले दासढुंगा हत्याकाण्डको छानबिनको कुरा औपचारिक वा अनौपचारिक रुपमा कहीँ कतै उठाएको देशवासीले सुुन्न पाएका छैनन् । तिनै केपी ओली हुन् तिनले दासढुंगा हत्याकाण्डको सरकारले उचित छानबिन गर्न नलगाएको भनेर २०५० जेठ ३ पछिका दिनमा काठमाडौँका सडकलाई महिनौसम्म पनि आन्दोलित गराए । धेरै सडकका रेलिङ भाँचे । धेरै पुुलिसलाई इँटा बर्साए । केही निर्दोषको त्यही आन्दोलनका क्रममा ज्यान पनि गयो । त्यतिबेलाका दृष्टि, छलफल र सूर्य लगायतका एमाले मुखपत्रहरुमा एमाले आन्दोलनको सडक तमाशा अभिलेख गरिएकै होला । फुर्सद हुनेहरुले पल्टाए हुुन्छ । कतिसम्म भने ओलीको संयोजकत्वमा पार्टीले नै छुट्टै छानबिन आयोग समेत बनाएर कथित प्रतिवेदन पनि तयार पारिएको थियो । तर उतिबेला टायर बालेर आन्दोलन गर्नेदेखि छानबिन समितिको नेतृत्वसम्म गरेका ओलीले सरकारको नेतृत्व गरेका बेला आफैले तयार गरेको प्रतिवेदन पनि सम्झेनन् ।

२०४८ सालको आम निर्वाचनमा एमालेलाई मदन भण्डारीले आफ्नो भाषणबाट सफलता दिलाए । २०५१ साल यताका प्राय सबै निर्वाचनमा एमाले (अहिले त नेकपा भइसकेको छ ) ले मदन भण्डारीको हत्यारा पत्ता लगाउने नारा दिएरै भोट बटुलेको हो । कहिले अल्पमतको र कहिले मिलिजुली सरकार चलाउनु पर्ने भएकोले हत्यारा पत्ता लगाउन नसकेको कुरा एमालेले जनता समक्ष राख्दै गयो । सोझा जनताले पत्याए पनि । गत आम निर्वाचनमा करिव दुई तिहाई बहुमत दिलाए । दुई तिहाई बहुमतको सरकार भइसके पछि त कतैबाट अंकुश लाग्दैन, त्यसमा पनि भण्डारीकी आफ्नै श्रीमती राष्ट्रपति छिन्, आफ्नै चेला केपी ओली प्रधानमन्त्री छन्, अब त कम्युनिष्ट सरकारले आफ्ना नेताको हत्या प्रकरण छानविन गर्ला भन्ने आशा जनताले राखेका थिए । तर प्रधानमन्त्री बनेपछि ओलीले दासढुंगा त सम्झे तर मदन भण्डारी सम्झेनन् । मदन भण्डारीको सट्टा उनले डुंगालाई महत्व दिए । उनले त्रिवेणीदेखि दासढुंगा सम्म डुंगा चलाउने निर्णय गरे । त्यो डुंगालाई पानीजहाजको नाम दिने निर्लज्ज हर्कत गरे । कति हेपेको जनतालाई ? हेप्नु पनि हद हुन्छ नि । त्यसबेला धेरैलाई लागेको थियो नेकपा एमालेले दासढुंगा हत्याकाण्डको न्यायिक छानबिन गरेर दूधको दूध पानीको पानी पार्नेछ । त्यतिबेला पार्टीले गठन गरेको छानबिन आयोग आखिर उनकै नेतृत्वमा थियो जसले षड्यन्त्र भएको किटान गरेको थियो ।

पानीजहाज चलाउने नाममा विषयान्तर गरेर प्रधानमन्त्री लोकलाई हँसाए, मदन आश्रितको बैकुण्ठवासको आत्मालाई मज्जाले गिल्ला गरे, गराए । न मदन भण्डारीको हत्या प्रकरण छनविन गर्न सके, न जनताको जर्जर अवस्थालाई परिवर्तनका लागि मदन भण्डारीले देखाएको बाटोमा विद्या भण्डारी र ओली हिँड्न सके । मदन भण्डारीको हत्यारा बाहिर ल्याउने नारा भजाएर मनमोहन अधिकारीदेखि माधवकुमार नेपाल, झलनाथ खनाल, केपी ओली चार थान प्रधानमन्त्री एमालेले पड्काइसकेको छ । यी चारै जना प्रधानमन्त्रीले मदन भण्डारीलाई न्याय गरे त ? उनको सैद्धान्तिक क्रान्ति जनताको बहुुदलीय जनवादको विचारलाई आत्मसात गरे त ? तर यी सबै फगत फोस्रो नारा मात्रै हुन् । एमालेले मदनको कार्ड भजाएर केवल सत्ताको राजनीति गर्यो। देशका व्यवस्थाहरु ढाल्ने र आफू सत्ताशक्तिको ताबेदारी गर्ने अव्वल खेलाडी बन्यो । तर मदनको सोच, सपना र आदर्श बमोजिम न त एमाले अघि बढ्यो, न त देश र जनतालाई मदनपथको परिवर्तनको कुनै आभाष नै दिन सक्यो ।

जसका श्रीमती राष्ट्रपति छन्, कार्यकर्ता प्रधानमन्त्री, मन्त्रीहरु छन् त्यो नेताको हत्या त यसरी लुक्दो रहेछ भने सर्वसाधारणले न्याय पाउने आशा कसरी गर्ने ? सेना प्रहरी सहित १७ हजार मान्छे मारेको व्यक्तिलाई पुरस्कृत गर्दै सन्तोष मानेर आनन्दसँग बस्ने हो भने फेरी यस्ता घटना नदोहोरिएलान भन्न सकिन्न । हामीले आँफै यस्ता घटनाको रहस्योद्घाटन गर्न सकिँदैन भने अन्तर्राष्ट्रिय विज्ञको पनि सहयोग लिन सकिन्छ । गम्भीर प्रकृतिका रहस्यमय घटना सम्वन्धि अनुसन्धानमा दक्षता हासिल गरेका धेरै अन्तर्राष्ट्रिय निकायहरु छन् । उनीहरुले सत्य तथ्य जनतासामु ल्याउने छन् । फेरी यस्ता घटना दोहोरिने छैनन् । र नेपाली जनताले राहत महशुस गर्नेछन् । सरकारले पनि आफै अनुसन्धान गर्न सक्दैन भने कुनै स्वतन्त्र निकायलाई जिम्मा लगाओस् । तब मात्रै सत्य तथ्यको अनुसन्धान हुनेछ । ढिलै भए पनि नेपाली जनताले राहतको महशुस गर्नेछन् । हत्याका एक मात्रै विति साक्षी अमर लामालाई किन मारियो ? यसमा माओवादीले जवाफ दिनुपर्छ ? जेलमा रहँदा अमर लामालाई इन्जेक्सन दिएरमार्न खोज्ने डाक्टरलाई एमालेले किन पुरस्कृत गरेर पटक पटक सांसद तथा मन्त्री बनायो ? यसको जवाफ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दिनु पर्ने  कि नपर्ने ? अमर लामा ड्राइभर मात्रै थिएनन् एमालेका कार्यकर्ता समेत थिए । अमर लामा माओवादीबाट मारिनु र प्रचण्ड तथा केपी ओलीवीच गठजोड हुनुलाई संयोग मात्रै मान्न सकिन्न ।

यस्ता घटना घटित भइरहेने र सम्वन्धित निकायले कहिल्यै पनि नखोज्ने हो भने हाम्रो मुलुकको प्रहरी के का लागि ? आफ्नो मुल जिम्मेवारी प्रति बेखवर संस्थालाई जनताको रगत पसिनाबाट संकलन भएको करले किन पाल्ने ? यस्ता ठूला अपराध अनुसन्धानका लागि छुट्टै स्पेशल फोर्स जरुरी छ । जसले स्वतन्त्रताका साथ काम गर्न पाओस् । कहीँ कतैबाट हस्तक्षेपको गन्ध नआओस् । सबै ठाउँमा राजनीतिले हस्तक्षेप गर्यो भने सत्य तथ्य कहिल्यै पनि बाहिर आउने छैन । निर्मला बलात्कार तथा हत्याकाण्ड जस्तै हुन्छ र गोरखाका कृष्णप्रसाद अधिकारी प्रकरण जस्तै हुन्छ ।

दुई तिहाइको सरकार जनताले के का लागि बनाएका हुन् ? जबसम्म सत्य तथ्य बहिर आउँदैन तब सम्म नेपाली जनताले न्यायको अनुभूति पाउन सक्दैनन् । न्याय भनेको जनताको अधिकार हो । जब जब चुनाव आउँछ तब तब यस्ता विषय ठूलो स्वरमा सुनिन्छ । चुनावी परिणामसँगै यी सबै विषय सेलाउँछन् । मान्छे काटेको, जिउँदै जलाएको प्रमाणित भएर जन्म कैदको सजाँय भोगेका अपराधीले अदालतबाट उन्मुक्ति पाउँदा तमाशा हेरेर बस्ने सरकार फेलियर हो कि होइन ?

नेपाली जनताले कसरी हेरिरहेका छन् , कस्तो सरकारको आवश्यकता छ ? कस्तो सरकार नेपालको माटो सुहाउँदो हुन्छ ? अब देशको माटो सुहाउँदो सरकारको आवश्यकता छ । केही समयका लागि फेरी पंचायतकालको जस्तै निरंकशु राजा नै चाहिने भयो त ? सैनिक शासन पो ठिक हुन्छ कि ? भन्ने महशुस जनताले गर्न थालिसके । लोकतन्त्र नराम्रो व्यवस्था होइन , तर हामीकहाँ लोकतन्त्रको नाममा छाडातन्त्र हावी भयो । नेपालमा अझै लोकतन्त्र आउने बेला भएको रहेनछ । २०४६ सालमा पंचायति व्यवस्था विघटन गर्नु राजा वीरेन्द्रको ठूलो गल्ती रहेछ । त्यही गल्तीका कारण नेपाल समाप्तिको दिशातिर गएको हो ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.