खाद्य वस्तुको मूल्यवृद्धि दिनप्रति दिन चुलिदै, खै नियमन

रिपोर्ट नेपाल | 2021 Jan 11 | 08:21 am 161

काठमाडाैं, पुस २७ः दसैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपैयाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपैयाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपैयाँसम्म पुगेको छ ।

तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ६० रुपैयाँसम्म बनाउने तयारी गरिरहेका छन् । सनफ्लावर तेलको मूल्य पनि सोही दरमा अकासिएको छ ।

एक साताअघि हरियो केराउको मूल्य प्रतिकिलो १ सय १५ रुपैयाँ थियो । अहिले १ सय २५ रुपैयाँ पुगेको छ । गत चैतमा ब्रोइलर कुखुराको मासु प्रतिकिलो ३ सय २० रुपैयाँ र अन्डा प्रतिक्यारेट २ सय ८० रुपैयाँ थियो । अहिले ब्रोइलरको मासु ३ सय ७५ देखि ३ सय ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । त्यस्तै अन्डाको मूल्य प्रतिक्यारेट ४ सय ५० रुपैयाँसम्म पुगेको छ । मंसिरअघि प्रतिटिपर २२ हजार रुपैयाँ पर्ने गिट्टी अहिले बढेर ३० हजार रुपैयाँ पुगेको छ । प्रतिबोरा ६ सय ५० रुपैयाँ पर्ने सिमेन्टको मूल्य बढेर ७ सय, प्रतिकिलो ५७ देखि ६२ रुपैयाँ पर्ने डन्डी बढेर ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ ।

मूल्यवृद्धि भएका वस्तुमध्ये यी केही उदाहरण मात्र हुन् । राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल बढ्दो छ । मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोकेका छन् । खुद्रा व्यापार संघका अनुसार खानेतेलको मूल्य बढ्नुमा खास कारण नभए पनि आयातकर्ता र मिल सञ्चालकले अन्तर्राष्ट्रिय बजारमा बढेको बताउँदै मूल्यमा मनपरी गरेका छन् । कान्तिपुर दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.