क्रसर व्यवसायमा राजनैतिक गिद्धे दृष्टि

| 2020 Aug 01 | 06:24 pm 1653

  • चन्द्रकान्त पौडेल

नेपाल असंख्य नदी नाला भएको देश हो। विश्वमा जलस्रोतको दोस्रो धनी देश नेपाल हो। नेपालका नदीनाला बर्खे खोलाको बालुवा यदि सही तरिकाले प्रयोग गर्ने हो भने नेपाललाई बालुवा गिट्टी सिमेन्टमा आत्मनिर्भर बनाएर खर्बौंको व्यापार घाटालाई परिपूर्ति गर्न सकिन्छ।

नेपालका नदी नाला हुँदै नेपालको बालुवा भारतमा गैरहेको अवस्थामा नेपाल सरकारले क्रसर व्यवसायलाई व्यापारको श्रेणीमा राख्यो फलस्वरूप नेपालमा अहिले प्रायः जिल्लामा क्रसर व्यवसाय संचालित छन्। क्रसर व्यवसाय बकाइदा सरकारको नीति नियम र कानूनमा रहेर नेपालमा चलिरहेको छ। तर, अझै पनि नेपालको बालुवा पूर्ण रूपमा नेपालमा नै रहन सकेको छैन। किन कि विभिन्न दल र संघ संस्थाबाट परिचालित कथित अभियन्ताहरू केवल डाह ईर्ष्या र राजनैतिक शोध प्रतिशोधको भावनाबाट क्रसर व्यवसायको विरोध गर्छन् फलस्वरूप नेपालका नदी नालाबाट खर्बौंको बालुवा गिट्टी नेपाली सिमा हुँदै भारतको बिहारमा पुग्छ।

नेपालको कालीगण्डकी नदी पनि बालुवा गिट्टी र सिमेन्टको खानी हो बर्सेनि कालीगण्डकी नदिले टनका टन गिट्टी बालुवा लिएर आउँछ तर यहाँ व्यवसाय गर्ने केही व्यवसायीमाथि फरक राजनैतिक आस्था र विचार राखेका अभियन्ताका बेतुक र व्यर्थ विवादका कारण बारम्बार क्रसर व्यवसायमा धक्का पुगिरहेको अवस्था छ। त्यसको कुप्रभाव हजारौं सर्वसाधारण जनतामाथि पर्ने गरेको छ । किनकी क्रसर व्यवसायमा जागीर खाने हजारौं श्रमिकको रोजिरोटी बेला बेला यस किसिमका प्रतिशोधपूर्ण विरोधका कारण खतरामा परिरहेको छ ।

जलजला गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका नेता यामबहादुर मल्ल भन्नुहुन्छ धौलागिरी अञ्चलमा अनेक क्रसर व्यवसायीहरू हुनुहुन्छ तर केही अभियन्ता नामधारी तत्वहरूले लोकतन्त्रवादी विचार राख्ने क्रसर व्यवसायी उपर सुनियोजित रूपमा अप्रासंगिक हल्ला खल्ला गरेर व्यवसायलाई व्यर्थ विवादमा तान्ने काम भैरहेको छ तर लोकतान्त्रिक विचार राख्ने क्रसर व्यवसायीहरूले पूर्ण रूपमा नेपाल सरकारको क्रसर व्यवसायको नीति नियम र कानूनको पूर्ण पालना गर्दै सो व्यवसाय गरिरहेको अवस्थामा विविध अभियन्ता नामधारी खन्चुवाहरूको स्यालहुइयाँ व्यर्थ छ। हात्ती हिंड्यो बजार खोई के जाती भुके हजार अध्यक्ष मल्लले बताए।

त्यसैगरी जय मा दक्षिणकाली क्रसर उद्योगका प्रमुख नेपाली कांग्रेस पर्वतका युवा नेता विप्लव हमाल भन्छन् लीगण्डकीको दोहन यो शब्द नै आपत्तिजनक छ। बगेर जाने बालुवा सरकारलाई कर तिरेर निकालेर नेपालको विकासमा योगदान भएको छ देशभरी साढे सात सय भन्दा बढी क्रसर उद्योग छन् । हजारौंले रोजगार पाएका छन् हजारौंको चूलो बलेको छ । हजारौंले पढ्न पाएका छन् । क्रसर व्यवसायीलाई थर्कायो काममा डिस्टर्ब नहोस् भनेर लौ खाउ तिमी पनि भनेर अलग्गै अभियन्ताहरूलाई पैसा दिनैपर्यो नत्र कराउँछन् ।

यी त मोबाइल नेटवर्क जस्ता भए ब्यालेन्स कम हुँने बित्तिकै मोबाइल नेटवर्कले म्यासेज पठाउँछ यिनिहरूले खान नपाए धर्म र कानुनका कुरा तेर्साएर कचौरा थाप्छन् । गलत हो भने कसरी देशभर बालुवा गिट्टीको पूर्ति गर्ने ? व्यवसाय गलत हैन भने किन यति धेरै रोइलो ? कालीगण्डकी दोहन भो भन्ने विविध प्राणीहरू खान पाएनन् भने हल्ला गर्छन् यो सबै छर्लङ्ग देखिएको छ, हमालले बताए ।

पछिल्लो समय केही अभियन्ताहरूले हामीलाई नि कमिसन चाहिन्छ नत्र हामी हल्ला खल्ला गर्छौ भन्दै पैसाको माग गरेको भिडियो बजारमा आए पछि यो मामला तातेको छ । अर्का एक जना लोकतन्त्रवादी क्रसर व्यवसायी नाम नबताउने शर्तमा भन्छन् यस्ता कथित भ्रष्ट अभियन्ताहरूलाई समय आएपछी स्वयम् जनताले चिन्नेछन् प्रमाण छ, भन्दैमा देखाएर दोलो गर्न पनि भएन मज्जाले नाटक हेरिएको छ । बसिएको छ । एक क्रसर व्यवसायीले बताए ।

अभियन्ताहरू राजनैतिक प्रतिशोध एवं आर्थिक लोभ लालचमा फसेर हल्ला खल्ला गर्छन् तर, यदि यो व्यवसाय गलत हो भने सरकारले बन्द गरोस् नत्र यस्ता विविध अतिरंजित हल्ला गरेर नेपाललाई व्यापारिक घाटामा पुर्याउने काम कसैले गर्नुभएन। अवश्य पनि क्रसर व्यवसायमा केही अनियमितता भएको छ भने दुई तिहाईको सरकारले यसलाई बन्द गरोस् किन कि हाम्रो पनि करोडौंको लगानी व्यवसायमा फसेको छ । यदि यो गलत हो भने हामीले यो लगानी अन्य व्यवसायमा पनि त लगाउन सकिन्छ नि क्रसर व्यवसायी बिबेक हमालले बताए ।

पछिल्लो समयमा पर्वतका केही क्रसर व्यवसायी खास गरेर लोकतान्त्रिक विचार बोक्ने व्यवसायी उपर सुनियोजित रूपमा व्यवसायलाई बदनाम गराउने उद्देश्यले भैरहेको प्रोपोगन्डाकोपछि नलाग्न एवम् हामी क्रसरमा काम गर्ने श्रमिकको पनि मर्का बुझिदिनुहुन अनुरोध गर्दछौं एकजना क्रसर व्यवसायमा कार्यरत श्रमिकले दुखेसो पोखे।

नेपाल सरकारको नियम कानुनमा रहेर ढुक्कसंग व्यवसाय गर्न दिनुपर्यो यस किसिमका कुतर्क र अनावश्यक हल्लाखल्ला केवल निराधार एवम् कपोकल्पित हुन् यदि होइन भने सरकार प्रशासनले के हेरेर बसिरहेको छ ? क्रसर व्यवसायमा खन्चुवा अभियन्ताहरूको राजनैतिक गिद्धेदृष्टि कहिले सम्म ?
(लेखक नेविसंघका नेता तथा संचारकर्मी हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.