कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघद्वारा चाबहिलमा विरोध प्रदर्शन

रिपोर्ट नेपाल | 2019 Dec 09 | 05:39 pm 135

नेपालगञ्ज, मंसिर २३: सोमबार कोहलपुरमा भएको घटनाको विरोधमा काठमाडौंमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्रदर्शन गरेको छ । आइतबार कोहलपुरमा प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस एकाइको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका थिए । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामासमेत मागेका छन् ।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमै पुगेर समापन भएको थियो ।

आइतबार बिहान ट्रकले ठक्कर दिएर कक्षा ७ मा पढ्ने कोहलपुर १० की प्रकृति चन्द सख्त घाइते भएपछि नेपालगन्ज कोहलपुर खण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीहरुसहित १५ जनाभन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारीको आक्रमणबाट केही प्रहरीहरु पनि घाइते भएका छन् ।

ट्रकको ठक्करबाट घाइते प्रकृतिको उपचार ललितपुरमा रहेको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.