कार्यकालसम्म किन टिक्दैन् इष्माका प्रमुख प्रशासकीय अधिकृत

| 2020 Nov 21 | 12:25 pm 83

गुल्मी, मंसिर ६ः स्थानीय तहकाे निर्वाचन भएकाे लगभग ४ वर्ष पुग्न लाग्दा पनि गुल्मीको इष्मा गाउँपालिकाकाे केन्द्रकाे अहिलेसम्म  टुंगो लगाउन सकेको छैन, भने त्यस गाउँपालिकामा कुनै पनि प्रमुख प्रशासकीय अधिकृत लगातार दुई वर्षसम्म टिक्न सकेका छैनन् ।

निजामती सेवा ऐन र नियमावलीमा दुई/दुई वर्षमा सरुवा र पदस्थापन गर्ने व्यवस्था भए पनि इष्माको हकमा यो नियम लागू हुन सकेको छैन । उक्त गाउँपालिकामा तत्कालीन नेकपा एमाले र हालको (नेकपा) को तर्फबाट लक्ष्मण बिष्टले पालिका प्रमुखकाे  नेतृत्व गरेका छन् ।

रिपाेर्ट नेपाललाई प्राप्त जानकारी अनुसार ०७३ सालबाट गाउँपालिका सञ्चालनमा आएयता तीनवटा प्रमुख प्रशासकीय अधिकृतको हेरफेर भइसकेको बुझिएकाे छ । कामचलाउकाे रुपमा नारायण महतले १० महिनादेखि प्रशासकीय कार्यभार सम्हाल्दै आएका छन् । गत वर्ष फागुनमा सरुवा भएर आएका प्रेम अर्यालले गाउँपालिका प्रमुख बिष्टको चाहानाअनुसार काम नगरिदिँदा २० दिनमै सरूवा गरिएकाे जनाइएकाे छ ।

गत असार २८ मा सशस्त्र प्रहरीको सुरक्षा घेरामा गाउँसभा गरेको इष्मा गाउँपालिकाले ०७६/७७ को अन्त्यतिर कोभिड(१९) बाट प्रभावितका कारण रोजगार गुमाई फर्किएकाहरूलाई लक्षित कोभिड कृषि कार्यक्रमअन्तर्गत प्रदेशबाट परेको ४६ लाख र संघबाट कागती उत्पादन तथा प्रवर्धनका लागि परेको २२ लाख रुपैयाँमा कार्यकर्ता पोसेके भनी चर्काे विरोध भएको थियो । जसकारण छानबिनका लागि वडा नम्बर ५ का अध्यक्ष कलानिधि भण्डारीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन भयो । यो समितिले १० लाख अनियमितता भएको ठहर गर्दै गाउँपालिकालाई असोज २५ मा प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक भएको छैन ।

गाउँपालिकाले करारमा नियुक्त गरेका कृषि प्राविधिक यज्ञश्वर भारतीको नाममा आर्थिक वर्षको अन्त्यमा करिब ४२ लाख रुपैयाँको चेक काटेर भुक्तानी दिनुका साथै किर्ते कागजात खडा गरिएको पाइएको छ । गत आर्थिक वर्ष सांसद विकास कोषबाट इष्मा गाउँपालिकाको ढोकाको मुखदेखि कोटकटेरीसम्मको बाटोका लागि परेको ४८ लाख रुपैयाँको ५० प्रतिशत पनि खर्च नगरी पुरानो ऋणको बहानामा दुई/चार दिन डोजर चलाइएको बताइन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.