काठमाडौं, बैशाख १२ः उम्मेदवारी मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार मेयरमा १६ र उपमेयरमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, वडाध्यक्ष १२ र वडा सदस्यमा ५ जनाको उम्मेदवारी परेको छ ।
राप्रपा र साझा विवेकशील पार्टीले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार बालेन शाहले मेयरका लागि उम्मेदवारी दर्ता गराएका छ भने साझा विवेकशीलबाट मेयरमा समीक्षा बाँस्कोटा र उपमेयर कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गराएकी थिइन् । ललितपुरमा राप्रपाबाट मेयरमा अष्ट महर्जन र उपमेयर स्वर्णिमा शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् ।
आइतबार उम्मेदवार नामावली टुंग्याउने काममा व्यस्त देखिएका सत्ता गठबन्धन दल र प्रमुख प्रतिपक्ष दलले आज सोमबार उम्मेदवारी दर्ता गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उपत्यकाका स्थानीय तहका उम्मेदवारहरू चयन गरिसकेको जनाउँदै सोमबार उम्मेदवारी दिने निर्णय गरेको थियो ।
ललितपुरमा स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार उम्मेदवारी दर्ता गराउने पहिलो व्यक्ति बनेका छन् । उनले महानगरपालिका वडा नम्बर १० को वडाअध्यक्षमा पुनः उम्मेदवारी दर्ता गराएका हुन् । उनले वडाध्यक्ष पदमा उम्मेदवारी दिएको यो ११औं पटक हो । ८१ वर्षका व्यञ्जनकार २०२९ सालदेखि लगातार वडाध्यक्षमा चुनाव जित्दै आएका छन् । उनले राजनीतिक यात्रा शुरू गरेको ५० वर्ष भइसकेको छ । व्यञ्जनकारले भने– ‘मैले शुरू गरेका काम नै सकिएको छैन । ती काम पूरा गर्न फेरि चुनाव जित्नु छ ।’ नेपाल समाचारपत्रबाट